अर्थ

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्बभन्दा बढी लगानी

By अर्जुन भट्टराई

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्बभन्दा बढी लगानी

काठमाडौं । नेपालको अग्रणी निजी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आफ्नो ४२औं वार्षिकोत्सवको अवसरमा उत्पादनशील क्षेत्रमा गरेको ठूलो लगानीको तस्बिर सार्वजनिक गरेको छ।

‘बैंकिङ एण्ड बियोन्ड’ को नाराका साथ अगाडि बढेको यस बैंकले परम्परागत बैंकिङभन्दा बाहिर निस्केर देशको दिगो विकासमा सहयोग पुग्ने क्षेत्रहरूमा ठूलो मात्रामा कर्जा विस्तार गरिरहेको छ।

आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार बैंकले जम्मा ४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसमध्ये कृषि, ऊर्जा तथा साना र मझौला उद्यमको हिस्सा उल्लेखनीय छ।

कृषि क्षेत्रमा बैंकले ५३ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ। जलविद्युत र ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ लगानी गरी राष्ट्रिय ऊर्जा संकट समाधान र निर्यात प्रवर्धनमा सहयोग पुर्‍याएको छ। लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ, जसले तल्लो तहमा रोजगारी सिर्जना र उद्यमशीलता विकासमा टेवा पुर्‍याएको छ। यसका साथै विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिने पर्यटन क्षेत्रमा पनि ११ अर्ब १० करोड रुपैयाँ लगानी गरिएको छ।

यी क्षेत्रहरूमा गरिएको कुल लगानी १ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी छ।

सन् १९८४ मा स्थापना हुँदा केवल १३ करोड ३० लाख रुपैयाँ मात्र कर्जा लगानी गरेको यस बैंकले आज ४ खर्ब ६४ अर्बको उचाइ हासिल गर्नुमा उत्पादनशील क्षेत्रप्रतिको विश्वास नै मुख्य कारण रहेको बैंकले जनाएको छ।

हाल २६४ शाखा र ३१५ एटीएमको राष्ट्रव्यापी सञ्जालमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको नबिल बैंकले डिजिटल प्लेटफर्ममार्फत पनि कर्जा सुविधाहरू सहज रूपमा उपलब्ध गराइरहेको छ।

आफ्नो वित्तीय यात्रामा आठ पटक ‘उत्कृष्ट करदाता’ र १० पटक ‘नेपालको उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड’ हासिल गरिसकेको नबिल बैंकले आगामी दिनमा पनि जिम्मेवार बैंकिङमार्फत नेपालको आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बैंकले नाफा आर्जनमात्र नभई दिगो विकास लक्ष्य हासिल गर्न र ग्रामीण स्तरसम्म वित्तीय पहुँच पुर्‍याउन लगानीका क्षेत्रहरू थप विविधीकरण गर्दै लैजाने लक्ष्य लिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.