समाचार

मनसुनका कारण जोमसोम विमानस्थल सुनसान, नियमित उडान ठप्प

By अर्जुन भट्टराई

मनसुनका कारण जोमसोम विमानस्थल सुनसान, नियमित उडान ठप्प

मुस्ताङको जोमसोम विमानस्थलबाट निलगिरी हिमालको मनमोहक दृश्य देख्न पाइन्छ। मौसम खुलेका बेला निलो आकाशमुनि हिउँले ढाकिएको निलगिरी हिमाल झनै आकर्षक देखिन्छ। विमानस्थलबाटै स्पष्ट देखिने यो हिमालले मुस्ताङ आउने पर्यटकलाई सधैँ लोभ्याउँछ।

मुक्तिनाथ दर्शनका लागि जोमसोम हुँदै यात्रा गर्नेहरूले यहाँको प्राकृतिक सौन्दर्य पनि उपभोग गर्न पाउँछन्। धार्मिक पर्यटनसँगै हिमाली दृश्यावलोकनका कारण जोमसोम नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ।

तर यतिबेला यो चहलपहलयुक्त विमानस्थल सुनसान देखिन्छ। मनसुन सक्रिय भएसँगै मौसम प्रतिकूल हुने र धावनमार्गको सुरक्षालाई ध्यानमा राखेर एयरलाइन्सहरूले जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म सबै नियमित उडान स्थगित गरेका छन्।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल नियमित उडान नभए पनि फाट्टफुट्ट चार्टर्ड हेलिकप्टरहरू भने उडिरहेका छन्। उनले भने, ‘अहिले नियमित फ्लाइटहरू छैनन्, तर हेलिकप्टरको चासो भने देखिन्छ र बेलाबेलामा चार्टर्ड उडानहरू भइरहेका छन्।’

मनसुन अवधिमा मौसम छिनछिनमा परिवर्तन हुने भएकाले साना जहाजका लागि उडान जोखिमपूर्ण हुने पोखरेलले बताए। ‘एयरलाइन्सहरूले यसै कारण यो समयमा उडान कटौती गर्ने गर्छन्,’ उनले थपे।

उडान ठप्प भए पनि विमानस्थल कार्यालय भने सेवाका लागि सदैव तयार रहेको पोखरेलले स्पष्ट पारे। ‘हामी सेवा दिनका लागि सधैँ तयार छौँ, यो एउटा पसल जस्तै हो। जहाज नआए पनि हामी आफ्नो कार्यक्षेत्रमा खटिएका हुन्छौँ,’ उनले भने। विमानस्थलको धावनमार्गमा कुनै समस्या नरहेको र प्राविधिक रूपमा उडानका लागि विमानस्थल पूर्णतः सक्षम रहेको पनि उनले जानकारी दिए।

हवाई सेवा बन्द भएपछि मुस्ताङ र मुक्तिनाथ जाने यात्रीहरूले सडक मार्गलाई विकल्पका रूपमा रोज्न थालेका छन्। जोमसोमबाट मुक्तिनाथसम्मको सडक यात्रा सहज रहेकाले धेरैजसो यात्री गाडीमार्फत गन्तव्यमा पुग्ने गरेका छन्। विमानस्थल प्रमुख पोखरेलले पनि यात्रीहरू सहजै गाडीबाट यात्रा गरिरहेको बताए।

साउन र भदौको वर्षात् सकिएपछि मौसममा सुधार आउने क्रमसँगै भदौको दोस्रो सातादेखि पुनः नियमित उडान सुचारु हुने अपेक्षा गरिएको छ। हाललाई भने मुस्ताङको हवाई सम्पर्क केवल चार्टर्ड हेलिकप्टरमा मात्र सीमित रहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.