काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभागनजिक रहेको छ।
हाल देशभर अधिकांश आकाश बादलले ढाकिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
**दिउँसो कस्तो रहला मौसम?**
आज दिउँसो पनि देशभर अधिकांश बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने अनुमान छ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थान, मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने छ।
**रातिको मौसम पूर्वानुमान**
आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेश प्रदेश, गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
