ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार चालु आर्थिक वर्षमा अनुमानित ५४ करोड ८० लाख रुपैयाँमध्ये ९४.६४ प्रतिशत आम्दानी संकलन भएको छ भने ८४.२४ प्रतिशत बजेट खर्च भएको छ।
गाउँपालिकाका अनुसार यस आर्थिक वर्षमा ५४ करोड ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा वास्तवमा ५१ करोड ८६ लाख ४१ हजार रुपैयाँ मात्र संकलन भएको छ।
आम्दानीको स्रोतअनुसार हेर्दा संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँटतर्फ ९७.९६ प्रतिशत, समानीकरण अनुदानतर्फ ९१.४५ प्रतिशत तथा सशर्त, समपूरक र विशेष अनुदानतर्फ शतप्रतिशत रकम प्राप्त भएको छ। प्रदेश सरकारबाट प्राप्त समानीकरण, सशर्त र समपूरक अनुदान पनि पूर्ण रूपमा प्राप्त भएको विवरणमा उल्लेख छ।
तथापि, स्थानीय राजस्व बाँडफाँटतर्फ ८०.५५ प्रतिशत र आन्तरिक स्रोतबाट ६७.६२ प्रतिशत मात्र राजस्व संकलन हुन सकेको छ, जसले स्थानीय आम्दानीको लक्ष्य पूर्ण रूपमा हासिल हुन नसकेको देखाउँछ।
खर्चतर्फ गाउँपालिकाले कुल विनियोजित ५४ करोड ८० लाख रुपैयाँमध्ये ४६ करोड १७ लाख १३ हजार ५ सय ९५ रुपैयाँ ५६ पैसा खर्च गरेको छ, जुन कुल बजेटको ८४.२५ प्रतिशत हो। यसमध्ये चालु खर्च ८८.८३ प्रतिशत र पूँजीगत खर्च ७५.९५ प्रतिशत रहेको छ।
पूँजीगत खर्च चालु खर्चको तुलनामा कम रहे पनि समग्र बजेट कार्यान्वयन सन्तोषजनक रहेको गाउँपालिकाको दाबी छ। सार्वजनिक गरिएको यो विवरणले स्थानीय तहको वित्तीय पारदर्शिता तथा बजेट कार्यान्वयनको वास्तविक अवस्था उजागर गरेको छ।
