समाचार

बुद्धनगर आत्मदाह प्रयास: ‘भ्रामक समाचारले घाउमा नुन छर्‍यो’ — अश्विन राउतका परिवार

By अर्जुन भट्टराई

बुद्धनगर आत्मदाह प्रयास: ‘भ्रामक समाचारले घाउमा नुन छर्‍यो’ — अश्विन राउतका परिवार

काठमाडौं। काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको छ।

उनका भाइ दीपक राउतका अनुसार बिहान करिब ६ बजे घटना भएको थियो। परिवार श्राद्धको तयारीमा व्यस्त थियो। त्यसैबेला अश्विनकी श्रीमती नुहाउन गएको मौका छोपेर उनी बाहिर निस्के र आफ्नै स्कुटरबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाए।

ठूलो आवाज सुनेर श्रीमती बाहिर निस्किँदा अश्विन आगोमा जलिरहेका थिए। त्यसपछि छिमेकी, नजिकैको होस्टेलमा बस्ने युवाहरू र परिवारका सदस्यहरूले मिलेर आगो निभाए र प्रहरीलाई खबर गर्दै उनलाई तत्काल अस्पताल पुर्याइयो।

दीपकका अनुसार अश्विनको एक वर्षअघि स्पाइनल कर्डको शल्यक्रिया भएको थियो। शल्यक्रियापछि स्वास्थ्यमा अपेक्षाअनुसार सुधार नआएकाले उनी मानसिक तनावमा थिए। ‘उपचार अगाडि बढाउने तयारी भइरहेको थियो, तर त्यसअघि नै उहाँले यस्तो कदम चाल्नुभयो,’ दीपकले भने।

यसैबीच, यो घटनालाई पारिवारिक विवादसँग जोडेर केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेकोप्रति परिवारले कडा असन्तुष्टि जनाएको छ। दीपकले भने, ‘हामी यतिबेला अत्यन्तै ठूलो शोक र मानसिक पीडामा छौं। यस्तो संवेदनशील घडीमा आधारहीन र भ्रामक समाचार लेखेर परिवारलाई थप तनाव नदिन हामी आग्रह गर्छौं।’

उनले थपे, ‘केही अनलाइन र न्यूज च्यानलले पारिवारिक झगडा भन्दै पुराना घटनासँग जोडेर राजनीतिकरण गरे। सबै घटना एकैखालका हुँदैनन् भन्ने कुरा सञ्चारमाध्यम सञ्चालकहरूले बुझिदिनुपर्छ। यसले हामीलाई झन् दुखी बनाएको छ।’

दीपकले जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याउँदै तथ्य पुष्टि नगरी प्रकाशित भ्रामक समाचार तत्काल सच्याउन सम्बन्धित पक्षसँग माग गरेका छन्।

हाल अश्विन राउत चिकित्सकको निगरानीमा छन् र उनको स्वास्थ्य अवस्थाको मूल्यांकन भइरहेको परिवारले जानकारी दिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.