काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई घटनास्थलबाट हिँडाएर अस्पताल पुर्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको घटनाले नेपालमा गम्भीर जलनका बिरामीको उद्धार र उपचार प्रणालीबारे नयाँ बहस सुरु भएको छ।\n\nबिहीवार दिउँसो ट्राफिक नियम उल्लंघनका कारण महानगर प्रहरीले उनको बाइकमा ह्वील लक गरेपछि आवेशमा आएका नेपालीले आफ्नै बाइकको पेट्रोल शरीरमा खन्याई आगो लगाएका थिए। शुक्रवार वीर अस्पतालमा उपचारका क्रममा उनको दुखद निधन भयो।\n\nजलेको अवस्थामा प्रहरीले उनलाई हिँडाएरै अस्पताल लगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। घटना आकस्मिक भएको र आगो निभिसकेपछि ट्याक्सी रोक्न हतारमा त्यसो गरिएको भनी जिल्ला प्रहरी परिसर काठमाडौंले स्पष्टीकरण दिएको छ। तर ६० प्रतिशत शरीर जलेको व्यक्तिलाई हिँडाएर लैजानु कति उचित थियो भन्ने प्रश्न उठेको छ।\n\nयस विषयमा नेपाल न्यूज बैंकले बर्न चिकित्सकहरूसँग कुराकानी गर्यो।\n\nइन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलनका अधिकांश बिरामीलाई समयमै उचित उद्धार र विशेषज्ञ उपचार उपलब्ध गराउन सके ज्यान बचाउन सकिन्छ। तर शरीरको ठूलो भाग — विशेषगरी अनुहार, मुख र छातीमा — जलन भएको अवस्थामा बाहिरी घाउभन्दा पनि श्वासप्रश्वास प्रणालीमा पर्ने असर (इनहेलेसन इन्जुरी) अत्यन्त घातक हुन सक्छ।\n\nडा. धितालका अनुसार गणेश नेपालीको अवस्था गम्भीर हुनुको मुख्य कारण नै श्वासमार्गमा परेको यही असर थियो। उनले भने, “उहाँलाई भेन्टिलेसनमा राखेर राख्दा पनि चेस्ट कम्प्रेसन भइसकेको थियो। त्यसले अवस्था अझ जटिल बनाएको थियो। त्यस्तो अवस्थामा भारत वा अन्य कुनै ठाउँमा लगेको भए पनि बचाउन सक्ने केस थिएन। तर यस्तो जलनका बिरामीलाई हिँडाएर वा सामान्य तरिकाले सार्दा थप जोखिम हुन्छ। त्यसैले चिकित्सकीय टोलीले सुरक्षित रूपमा उद्धार गर्नुपर्ने हो, तर हिँडाएर उद्धार गरियो।”\n\n**जलनमा तत्काल के गर्ने?**\n\nग्लोबल हेल्थ मिडिया प्रोजेक्टका अनुसार जलन भएको खण्डमा सबैभन्दा पहिले जलेको ठाउँमा २० मिनेटसम्म चिसो पानी बगाउनुपर्छ। यसले जलनलाई चिसो बनाउँछ, सफा गर्छ र दुखाइ कम गर्छ। जलन नजिकको गहना वा कसिलो लुगा फुकाल्नुपर्छ किनकि जलिएको तन्तु सुन्निन्छ। घाउमा बरफ, तेल वा घरेलु कुनै पनि पदार्थ नलगाउनु र फोकाहरू नफुटाउनु जरुरी छ।\n\n**कहिले अस्पताल जानै पर्छ?**\n\nतलका अवस्थामा गम्भीर जलन भएको व्यक्तिलाई सकेसम्म ६ घण्टाभित्र अस्पताल पुर्याउनुपर्छ:\n- बच्चाहरू वा वृद्ध व्यक्तिको जलन\n- अनुहार, हात, जोर्नी वा जननाङ्गमा भएको जलन\n- शरीरको १० प्रतिशतभन्दा बढी भाग ढाकेको जलन (एउटा हत्केला र बन्द औँलाले करिब १ प्रतिशत प्रतिनिधित्व गर्छ)\n- गहिरो जलन — जुन सुक्खा, खैरो, जलेको वा सेतो देखिन्छ र छुँदा दुख्दैन\n- विद्युत् वा रसायनबाट भएको जलन\n- धुवाँ श्वासमा गएको अवस्था\n\nजलन भएका व्यक्तिहरू सुरुमा ठीक देखिन सक्छन् तर पहिलो दिनमा जलिएको छालाबाट धेरै तरल पदार्थ बाहिर निस्कन्छ र उनीहरू शकमा जान सक्छन्। अस्पताल जाँदै गर्दा दुखाइ कम गर्ने औषधि दिन सकिन्छ, बारम्बार सानो घुट्को पानी खुवाउनुपर्छ र व्यक्तिलाई न्यानो राख्नुपर्छ।\n\n**नेपालमा जलन उपचारको अवस्था**\n\nनेपालका ठूला अस्पतालहरूमा आईसीयू, बर्न युनिट, शल्यक्रिया तथा छाला प्रत्यारोपणजस्ता सेवा विस्तार हुँदै गएका छन्। तर गम्भीर प्रकृतिका बिरामीलाई अझै भारतलगायत विदेशी मुलुकमा रिफर गर्नुपर्ने अवस्था कायमै छ।\n\nविशेषज्ञहरू भन्छन् — गम्भीर जलनमा पहिलो केही घण्टा अत्यन्त महत्वपूर्ण हुन्छन्। घटनास्थलबाट सुरक्षित उद्धार, तत्काल प्राथमिक उपचार, श्वासमार्गको व्यवस्थापन र छिटो विशेषज्ञ केन्द्रमा पुर्याउन सके मृत्युको जोखिम उल्लेख्य रूपमा घटाउन सकिन्छ।\n\nगणेश नेपालीको यो दुखद घटनाले अस्पतालको सेवा मात्र नभई घटनास्थलमै हुने उद्धार प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण रहेको तथ्यलाई फेरि एकपटक उजागर गरेको छ।\n\n*(जलनको प्राथमिक उपचारसम्बन्धी थप जानकारीका लागि ग्लोबल हेल्थ मिडिया प्रोजेक्टको भिडियो हेर्न सकिन्छ: https://www.youtube.com/watch?v=GqZ44JxeuPM)*
गणेश नेपालीलाई हिँडाएर उद्धार गरियो, ज्यान बचेन — गम्भीर जलनमा सही उद्धार किन जरुरी छ?
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
