अर्थ

निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

By अर्जुन भट्टराई

निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

काठमाडौं । निष्क्रिय बैंक खाता व्यवस्थापन अब झनै सहज हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन र ग्राहकलाई सुविधाजनक सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ ।

नयाँ व्यवस्था अनुसार ग्राहकले आफ्नो बैंक खाता सम्बन्धित बैंक वा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखाबाट मात्र नभई मोबाइल र वेब एप्लिकेसनमार्फत समेत बन्द गर्न पाउनेछन् । खाता बन्द गर्ने अनुरोध भएपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को बैंक वा वित्तीय संस्थाको खातामा सारेर मात्र खाता बन्द गरिदिनुपर्ने नियम राखिएको छ ।

यसैगरी, निष्क्रिय भइसकेका खाता पुनः सक्रिय गराउन पनि अब झन्झट छैन । ग्राहकले देशका जुनसुकै शाखामा गई आफ्नो पहिचान प्रमाणित गरेर निष्क्रिय खाता सञ्चालनमा ल्याउन सक्नेछन् ।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना बनाई २०८३ साल पुस मसान्तभित्र अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।

खाता निष्क्रिय हुनबाट रोक्न बैंकहरूले खाता निष्क्रिय हुने समयअघि नै फोन, एसएमएस र इमेलमार्फत ग्राहकलाई नियमित जानकारी गराउनुपर्नेछ । निष्क्रिय भइसकेका खाताका हकमा कम्तीमा हरेक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी खाता पुनः सक्रिय गराउन अनुरोध गर्नुपर्ने र सोको अभिलेख राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

वित्तीय अपराध नियन्त्रणका सम्बन्धमा पनि राष्ट्र बैंकले कडाइ गरेको छ । निष्क्रिय खाता पुनः सञ्चालनमा आएपछि त्यसमा हुने अस्वाभाविक कारोबारको निगरानीका लागि बैंकहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्नेछ । साथै, निष्क्रिय खाताको दुरुपयोगबाट हुन सक्ने शंकास्पद आर्थिक कारोबार (मनी म्युल) लगायत वित्तीय अपराधबारे जनचेतना फैलाउन नियमित सूचना तथा सचेतनामूलक सामग्री प्रसारण गर्नुपर्ने र यस्ता गतिविधि पहिचान गर्न कर्मचारीको क्षमता विकास गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.