काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भयो। उनको मृत्युपछि उपचारको विषयमा विभिन्न प्रश्न र टिकाटिप्पणी उठेका थिए। तर चिकित्सकहरूका अनुसार उनको ज्यान जान सक्नु पछाडि बाहिरी घाउभन्दा पनि भित्री श्वास मार्गमा भएको क्षति नै मुख्य कारण थियो।
इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने, ‘उहाँको अनुहारमा एकदमै जलन भएको थियो। मुखमा जलन भएपछि मानिसले सास लिँदा तातो हावा भित्र जान सक्छ। त्यसले इनहेलेसन इन्जुरी गराउँछ, जसले श्वास मार्गमा गम्भीर असर पार्छ।’
डा. धितालका अनुसार गणेश नेपालीको शरीर करिब ६५ प्रतिशत जलेको थियो। चिकित्सकीय मापदण्डअनुसार शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको अवस्थालाई गम्भीर मानिन्छ। गणेशको अवस्थामा अनुहार र मुखमा भएको जलनका कारण तातो हावा फोक्सोसम्म पुगेर श्वासप्रश्वास प्रणाली नै थला परेको थियो।
सुरुबाटै श्वास फेर्न समस्या
डा. धितालका अनुसार गणेश नेपालीलाई सुरुबाटै श्वास फेर्न कठिनाइ भइरहेको थियो। छाती र हातमा भएको ‘सर्कमफेरेंसियल बर्न’ अर्थात् चारैतिरबाट भएको जलनले अवस्था अझ जटिल बनायो।
‘सर्कमफेरेंसियल बर्न छातीमा भयो भने चेस्ट कम्प्रेसन हुन्छ र सास फेर्न थप कठिन हुन्छ,’ उनले भने।
घटनापछि गणेशलाई तत्काल कुलिङ गरियो, इन्ट्युबेसन गरी भेन्टिलेसनमा राखियो र आईसीयूमा उपचार सुरु गरियो। स्कारेटोमी नामक शल्यक्रिया पनि गरियो। तर उनको भाइटल अवस्था क्रमशः कमजोर हुँदै गयो।
‘उहाँलाई भेन्टिलेसनमा राख्दा पनि चेस्ट कम्प्रेसन भइसकेको थियो। त्यस्तो अवस्थामा भारत वा अन्य कुनै ठाउँमा लगेको भए पनि बचाउन सकिने केस थिएन। उहाँको श्वास मार्ग नै कम्प्रोमाइज भएको थियो,’ डा. धितालले भने।
भारत लैजान किन सकिएन?
गणेशको उपचारका लागि भारत लैजाने भनिएको थियो। तर डा. धितालले स्पष्ट पारे कि बिरामीको अवस्था स्थिर नभएसम्म कहीँ पनि लैजान सम्भव हुँदैन।
‘बिरामीलाई भाइटल अवस्था सामान्यमा ल्याई स्थिर बनाएपछि मात्रै थप उपचारका लागि लैजान सकिन्छ। गणेशको अवस्था त्यस्तो बन्न सकेन,’ उनले भने।
डा. धितालले ६५ प्रतिशतसम्म जलेका बिरामीको उपचार नेपालमै सम्भव रहेको बताए। तर समयमै अस्पताल पुग्नु, श्वासप्रश्वास व्यवस्थापन र विशेषज्ञ उपचार सुरु हुनु अत्यन्त महत्वपूर्ण हुने उनको भनाइ छ।
नेपालमा जलन उपचारको अवस्था कस्तो छ?
नेपालका ठूला अस्पतालहरूमा आईसीयू, बर्न युनिट, शल्यक्रिया तथा छाला प्रत्यारोपणजस्ता सुविधा उपलब्ध छन्। तर अत्यधिक जटिल अवस्थाका बिरामीका लागि आवश्यक अत्याधुनिक प्रविधि, पर्याप्त बेड, बर्न आईसीयू, संक्रमण नियन्त्रण प्रणाली र बहुविषयक विशेषज्ञ टोलीको अभाव अझै चुनौती बनेको छ।
यही वास्तविकतालाई नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पनि आफ्नै अनुभवबाट पुष्टि गरेका छन्। २०७९ फागुन ३ गते खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा उनको शरीरको करिब २५ देखि ३० प्रतिशत भाग जलेको थियो। प्रारम्भिक उपचार नेपालमै गरिए पनि थप उपचारका लागि उनलाई भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर लैजानुपरेको थियो।
नेता भण्डारीले भने, ‘नेपालमा बर्न अस्पताल छ, तर जलन भएका व्यक्तिलाई राख्नका लागि आवश्यक आईसीयूको व्यवस्था छैन। उपचार महँगो भएकाले धेरैलाई समस्या हुन्छ।’
उनले थपे, ‘म आफैं पनि जलनको सिकार भएँ। मैले भारतमै उपचार गराएको हुँ। नेपालमै गुणस्तरीय जलन उपचारको व्यवस्था हुन सके विदेश जानुपर्ने बाध्यता अन्त्य हुन्थ्यो।’
विशेषज्ञहरूका अनुसार जलनका बिरामीलाई घटनास्थलबाट हिँडाएर वा सामान्य तरिकाले सार्दा थप जोखिम हुन सक्छ, त्यसैले चिकित्सकीय टोलीद्वारा सुरक्षित उद्धार गर्नु अनिवार्य हुन्छ। गणेश नेपालीको मृत्युले एकपटक फेरि नेपालमा जलन उपचारको पूर्वाधार र विशेषज्ञ सेवाको अभावमाथि गम्भीर प्रश्न उठाएको छ।
