मुगु । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीको पुर्खौली गाउँ गहिरो शोकमा डुबेको छ। उनी जन्मिएको घर आज सुनसान छ।
मुगुको सोरूँ गाउँपालिका–१ मा पर्ने उनको गाउँ जलधारा सदरमुकाम गमगढीबाट गाडीमा करिब ६ घण्टाको दूरीमा छ। गणेशको मृत्युको खबर पुग्नासाथ गाउँभर शोकको लहर फैलिएको छ।
गाउँमा रोजगारीको अवसर नभएपछि गणेश आफ्नो परिवारसहित भक्तपुरमा बस्दै आएका थिए। उनी राइड सेयरिङ सेवा ‘पठाओ’ मार्फत राइडरको काम गरेर आफ्नो र परिवारको जीविका चलाउँदै थिए। उनले सवारी साधनका रूपमा प्रयोग गर्ने मोटरसाइकल समेत भाडामा लिएको स्थानीय पदम बहादुर मल्लले बताए।
मल्लका अनुसार गणेशको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ। यस्तो विषम परिस्थितिमा राज्यले परिवारको उचित रेखदेख गर्नुपर्ने उनले माग राखे। अर्का स्थानीय सुरेश साहीले पनि गणेशको परिवार न्यून आयस्तरको भएको र उनीसँग भएको थोरै जग्गा अहिले बाँझै रहेको बताए। उनले परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै राज्य छ भन्ने अनुभूति हुनुपर्ने औँल्याए। मल्ल र साही दुवैले गरिबीकै कारण गणेशको ज्यान गएकोमा आफूहरू मर्माहत भएको बताए।
घटनाका प्रत्यक्षदर्शीका अनुसार बिहीबार गणेशले खडा गरेको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ह्विल लक लगाएर लैजाने प्रयास गर्दा विवाद भएको थियो। महानगर प्रहरीको व्यवहार र विवाद सहन नसकी गणेशले राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
आगो लागेपछि उनलाई तत्काल वीर अस्पताल पुर्याइएको थियो। शुक्रबार बिहान चिकित्सकहरूले उनको अवस्था चिन्ताजनक रहेको जानाकारी दिँदै थप उपचारका लागि नयाँ दिल्ली रिफर गर्ने तयारी गरेका थिए, तर स्वास्थ्य अवस्था थप बिग्रने जोखिमका कारण स्थानान्तरण रोक्नुपरेको थियो। त्यसको केही बेरमै उनको निधन भयो।
