समाचार

गणेश नेपालीको निधन: काठमाडौं महानगरपालिकाले दुःख व्यक्त गर्दै परिवारलाई सहयोगको घोषणा गर्यो

By अर्जुन भट्टराई

गणेश नेपालीको निधन: काठमाडौं महानगरपालिकाले दुःख व्यक्त गर्दै परिवारलाई सहयोगको घोषणा गर्यो

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएकोमा काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।

महानगरपालिकाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा यस घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार र गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको उल्लेख गर्दै सो समितिलाई आवश्यक सबै सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ। साथै, छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि महानगरपालिकाले स्पष्ट पारेको छ।

भविष्यमा यस्ता दुखद घटना दोहोरिन नदिन नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्ने, असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजाने विषयमा महानगरपालिका प्रतिबद्ध रहेको जनाइएको छ। यसका साथै, संवेदनशील परिस्थितिमा सबैले संयम र धैर्य अपनाउन समेत महानगरपालिकाले आग्रह गरेको छ।

दिवंगत गणेश नेपालीका परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, रोजगारीको व्यवस्था गर्ने र उनका सन्तानलाई निःशुल्क शिक्षा प्रदान गर्ने विषयमा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा निर्णय गरिने महानगरपालिकाले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.