समाचार

किन बचेनन् गणेश नेपाली? इनहेलेसन इन्जुरी र ६५ प्रतिशत जलनले लियो ज्यान

By अर्जुन भट्टराई

किन बचेनन् गणेश नेपाली? इनहेलेसन इन्जुरी र ६५ प्रतिशत जलनले लियो ज्यान

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनको उपचारलाई लिएर विभिन्न प्रश्न उठेका थिए। आखिर किन बचाउन सकिएन उनलाई?

इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालले यसको स्पष्ट जवाफ दिएका छन्। उनका अनुसार गणेशको शरीरको करिब ६५ प्रतिशत भाग जलेको थियो र मृत्युको मुख्य कारण बाहिरी घाउ नभई श्वास मार्गमा भएको गम्भीर क्षति (इनहेलेसन इन्जुरी) थियो।

डा. धितालले भने, ‘उहाँको अनुहारमा एकदमै जलन भएको थियो। फेसियल बर्न भएको थियो। मुखमा जलन भएपछि मानिसले सास लिँदा तातो हावा भित्र जान सक्छ। त्यसले इनहेलेसन इन्जुरी गराउँछ, जसले श्वास मार्गमा जलन हुन्छ।’

उनका अनुसार छाती र हातमा ‘सर्कमफेरेंसियल बर्न’ अर्थात् चारैतिरबाट भएको जलनले अवस्था थप जटिल बनाएको थियो। छातीमा चारैतिर जलन हुँदा छाती फैलिन नसकी सास फेर्न अत्यन्त कठिन हुन्छ।

चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भाग जल्नुलाई गम्भीर अवस्था मानिन्छ। गणेशको हकमा यो ६५ प्रतिशत थियो।

डा. धितालका अनुसार घटनापछि गणेशलाई तत्काल कुलिङ गरियो, श्वासप्रश्वास सहज बनाउन इन्ट्युबेसन गरी भेन्टिलेसनमा राखियो र आईसीयूमा उपचार थालियो। स्कारेटोमी अपरेशन पनि गरियो। तर भेन्टिलेसनमा राख्दा पनि छातीमा चेस्ट कम्प्रेसन भइसकेको थियो, र बिरामीको भाइटल अवस्था क्रमशः कमजोर हुँदै गयो।

उपचारका लागि भारत लैजाने कुरा उठेको थियो, तर बिरामी स्थिर नभएकाले त्यो सम्भव भएन। डा. धितालले स्पष्ट पारे, ‘उहाँलाई भारत अथवा अन्य कुनै ठाउँमा लगेको भए पनि बचाउन सक्ने केस थिएन। उहाँको श्वास मार्ग नै कम्प्रोमाइज भएको थियो।’

यो घटनाले नेपालमा जलन उपचारको पूर्वाधारमाथि फेरि प्रश्न उठाएको छ। यसअघि २०७९ फागुन ३ गते नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी ग्यास सिलिण्डर विस्फोटमा परी शरीरको करिब २५ देखि ३० प्रतिशत भाग जलेका थिए। प्रारम्भिक उपचार नेपालमै गरिए पनि थप उपचारका लागि उनलाई भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर लैजानुपरेको थियो।

नेता भण्डारीले आफ्नै अनुभव सुनाउँदै भने, ‘नेपालमा बर्न अस्पताल छ, तर जलन भएका व्यक्तिलाई राख्नका लागि आवश्यक आईसीयूको व्यवस्था छैन। मानिसहरू छिटो आत्तिने भएकाले पनि तत्काल उपचारका लागि लैजान खोज्छन्, तर यहाँ उपचार महँगो भएकाले धेरैलाई समस्या हुने गरेको छ।’

नेपालका ठूला अस्पतालहरूमा प्लास्टिक सर्जरी, स्किन ग्राफ्टिङ र आईसीयू सेवा उपलब्ध छन्, दक्ष चिकित्सक पनि कार्यरत छन्। तर अत्यधिक जटिल अवस्थाका बिरामीलाई चाहिने अत्याधुनिक प्रविधि, पर्याप्त बर्न आईसीयू, संक्रमण नियन्त्रण प्रणाली र बहुविषयक विशेषज्ञ टोलीको अभाव अझै कायमै छ।

नेता भण्डारीले नेपालमै गुणस्तरीय जलन उपचारको व्यवस्था हुन सके धेरै बिरामीलाई विदेश लैजानुपर्ने बाध्यता अन्त्य हुने बताउँदै आवश्यक पूर्वाधार र दक्ष जनशक्ति विकासमा जोड दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.