समाचार

शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, परिवारलाई उचित क्षतिपूर्ति दिन माग

By अर्जुन भट्टराई

शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, परिवारलाई उचित क्षतिपूर्ति दिन माग

मुगु । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीको पुर्खौली गाउँ यतिबेला गहिरो शोकमा डुबेको छ। उनी जन्मिएको घर सुनसान छ, वरिपरि मातम छाएको छ।

गणेशको घर मुगुको सोरु गाउँपालिका–१ मा पर्छ, जुन जिल्ला सदरमुकाम गमगढीबाट गाडीमा करिब ६ घन्टाको दूरीमा छ। उनको मृत्युको खबर पुग्नेबित्तिकै गाउँ जलधारा शोकमग्न बनेको छ।

गाउँमा रोजगारीको अभाव भएपछि गणेश आफ्नो परिवारसहित भक्तपुरमा डेरा गरी बस्दै आएका थिए। त्यहाँ उनी पठाओ राइड सेयरिङ सेवामा राइडरको काम गरेर आफ्नो र परिवारको जीविका चलाउँथे। उनले सवारी चलाउन प्रयोग गर्ने मोटरसाइकल भाडामा लिएको थियो।

स्थानीय पदम बहादुर मल्लका अनुसार गणेशको पारिवारिक अवस्था निकै कमजोर थियो। उनले राज्यले गणेशको परिवारलाई उचित रेखदेख गर्नुपर्ने माग राखे। अर्का स्थानीय सुरेश साहीले पनि गणेशको परिवारको आयस्तर कमजोर रहेको र उनीसँग थोरै जग्गाजमिन भएको तथा त्यो पनि हाल बाँझो अवस्थामा रहेको बताए। साहीले परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै राज्य छ भन्ने अनुभूति हुनुपर्ने औंल्याए। मल्ल र साही दुवैले गरिबीकै कारण गणेशको यो दुःखद अन्त्य भएकोमा आफूहरू मर्माहत भएको बताए।

प्रत्यक्षदर्शीहरूका अनुसार बिहीबार काठमाडौं महानगर प्रहरीले गणेशले रोकेको मोटरसाइकलमा ह्विल लक लगाएर लैजाने प्रयास गरेपछि विवाद भएको थियो। महानगर प्रहरीको व्यवहार र सो विवाद सहन नसकी उनले राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल वीर अस्पताल पुर्याइएको थियो।

उपचारका क्रममा शुक्रबार बिहान गणेशको निधन भयो। चिकित्सकहरूले उनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि नयाँ दिल्ली रिफर गर्ने तयारी गरेका थिए, तर स्वास्थ्य अवस्था थप बिग्रने जोखिमका कारण सो सम्भव भएन र केही समयपछि उनको ज्यान गयो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.