समाचार

हिजोको आलोचक, आजको उत्तरदायी : गणेशको आत्मदाहले बालेनलाई सोध्यो कठिन प्रश्न

By अर्जुन भट्टराई

हिजोको आलोचक, आजको उत्तरदायी : गणेशको आत्मदाहले बालेनलाई सोध्यो कठिन प्रश्न

काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिकै २५ वर्षीय युवा गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरे। यो घटनाले तीन वर्षअघि संसद् भवन नजिकै भएको त्यस्तै एउटा दर्दनाक घटनालाई फेरि सम्झना गराएको छ।

तीन वर्षअघि, २०७९ माघ ११ गते, संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले पनि आत्मदाह गरेका थिए। त्यतिबेला तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र यो राज्यको चरम असफलताको सबैभन्दा भयानक संकेत हो।’

आज त्यही बालेन मुलुकका प्रधानमन्त्री छन्। हिजो राज्यलाई ‘असफल’ भन्ने मान्छे आज राज्यको सर्वोच्च कार्यकारी पदमा बसेको बेला त्रिपुरेश्वरमा फेरि एउटा युवा आगोमा जल्यो। यसले एउटा कठोर सत्य उजागर गरेको छ — नेतृत्व फेरियो, तर भुइँमान्छेको नियति र राज्यको व्यवहार रत्तिभर बदलिएन।

को हुन् गणेश नेपाली?

मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपाली कृषि विषयमा स्नातक उत्तीर्ण एक शिक्षित युवा हुन्। देशमा रोजगारी नपाएपछि उनले दुई वर्षदेखि काठमाडौंमा पठाओ चलाएर आफ्नी श्रीमती र साना बच्चाहरूको जीविका चलाउँदै आएका थिए।

घटनाको दिन सडक छेउमा मोटरसाइकल पार्किङ गरेको भन्दै महानगरको नगरप्रहरीले उनको एकमात्र सहारा, त्यो मोटरसाइकल जफत गर्न खोज्यो। गणेशले रोएर बिन्ती गरे, तर नगरप्रहरीले उनको पुकार सुनेन। अन्ततः राज्य संयन्त्रको निर्दयतासामु हार खाएर उनले आफ्नै शरीरमा आगो लगाए।

वाचा र यथार्थबीचको खाडल

प्रेमप्रसादको घटनापछि बालेनले ‘सीप सिक्ने र जीवनस्तर वृद्धि गर्ने संरचना निर्माण गर्ने’ उद्घोष गरेका थिए। उनले जनप्रतिनिधि र सत्ताका अगुवाहरूलाई उत्तरदायी हुन अपिल गरेका थिए। तर आज कृषिमा स्नातक गरेका एक युवाले सडकमा पसिना बगाएर खान खोज्दा राज्यकै संयन्त्रले उनलाई मृत्युको दैलोमा धकेल्यो। ती वाचाहरू कहाँ गए भन्ने प्रश्न आज सबैको मनमा उठेको छ।

हिजो प्रेमप्रसादको आत्मदाहलाई ‘राज्यविरुद्धको विद्रोह’ देख्ने बालेन आज आफ्नै मातहत रहेको नगरप्रहरीको कठोरतालाई ‘नियम पालना’ को ढाकछोपले पन्छाउन मिल्दैन।

प्रेमप्रसादले व्यापारमा असफलता, निराशा र राज्यको असहयोग भोगेका थिए। गणेशले पढेर पनि जागिर नपाउने, र सडकमा स्वरोजगार गर्न खोज्दा पनि गरिखान नपाउने नियति भोगे। दुवै घटनाको जरो एउटै छ — नागरिकको सुरक्षा र उद्धारमा राज्यको उपस्थिति शून्य हुनु।

बालेनको त्यो पुरानो सामाजिक सञ्जाल स्टाटस आज उनकै सरकारका लागि ऐना बनेर उभिएको छ। हिजो स्थानीय तहमा बसेर संघीय राज्यलाई प्रश्न गर्नु र आज आफैं प्रधानमन्त्री भएर ती प्रश्नको जवाफ दिनु — यी दुई परिस्थिति एकदमै फरक छन्।

गणेशको आत्मदाह प्रयास केवल एउटा दुर्घटना होइन, यो बेरोजगार युवाहरूको पीडा र राज्यसत्ताको असफलताको अर्को भयानक संकेत हो। हिजो आफैंले उठाएका प्रश्नहरूको जवाफ अब प्रधानमन्त्री बालेनले नीति र व्यवहारबाट दिनुपर्ने अग्निपरीक्षा सुरु भएको छ। नागरिकलाई गरिखाने वातावरण नबनेसम्म यस्ता घटनाहरू रोकिने छैनन्। राज्य भनेको नियम र दण्ड मात्र होइन, नागरिकको संरक्षण पनि हो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.