काठमाडौं । एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) को नयाँ अध्यक्षमा नेपालका वरिष्ठ जेरियाट्रिसियन डा. जगदीशकुमार क्षेत्री नियुक्त भएका छन् । यो नियुक्तिको घोषणा नेदरल्यान्ड्सको एम्स्टर्डममा हालै सम्पन्न इन्टरनेसनल एसोसिएसन अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स (आईएजीजी) को विश्व सम्मेलनमा गरिएको हो ।
डा. क्षेत्रीसँगै भारतका डा. आशिष गोयललाई पनि एपीजीएनको नेतृत्वमा चयन गरिएको छ । डा. क्षेत्रीले अस्ट्रेलियाका प्राध्यापक लियोन फ्लिकरको स्थान लिएका हुन्, जसले २१ वर्षसम्म यो पद सम्हाल्दै आएका थिए ।
डा. क्षेत्री हाल काठमाडौंस्थित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालअन्तर्गत नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशक छन् । वृद्धावस्थासम्बन्धी चिकित्सा क्षेत्रमा उनले लामो समयदेखि अनुसन्धान र चिकित्सकीय सेवा दिँदै आएका छन् । उनले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयबाट पोस्टडक्टोरल तालिम पनि पूरा गरेका छन् । एसिया र युरोपका विभिन्न शैक्षिक तथा चिकित्सकीय संस्थासँग आबद्ध डा. क्षेत्रीसँग वृद्धावस्था स्वास्थ्य र अनुसन्धान क्षेत्रमा व्यापक अनुभव रहेको छ ।
उनको नेतृत्वमा एपीजीएनले दक्षिण एसियाली क्षेत्रमा बढ्दो वृद्ध जनसंख्याको स्वास्थ्य आवश्यकता र जेरियाट्रिक सेवाको विस्तारलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ । एपीजीएनले क्षेत्रभर वृद्धवृद्धाको स्वस्थ जीवन प्रवर्द्धन, जेरियाट्रिक चिकित्सा सेवाको विकास र विभिन्न देशबीच सहकार्य विस्तार गर्ने उद्देश्य लिएर काम गर्दै आएको छ ।
उल्लेखनीय छ कि नेपालमा सन् २०२५ मा सम्पन्न एपीजीएन सम्मेलनले पनि क्षेत्रीय स्तरमा जेरियाट्रिक स्वास्थ्य सेवाको विकास र सहकार्यलाई थप बल दिएको थियो । डा. क्षेत्रीको नेतृत्वले यस अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
