काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दागर्दै मृत्यु भएका २५ वर्षीय राइडर चालक गणेश नेपालीको घटनाप्रति नेपाल प्लाटफर्म वर्कस युनियनले गम्भीर आपत्ति र गहिरो दुःख व्यक्त गरेको छ।
ट्रेड युनियन काँग्रेस तथा नेपाल यातायात मजदुरसँग सम्बद्ध उक्त युनियनका अध्यक्ष जगनाथ गौतमले एक विज्ञप्ति जारी गर्दै यस घटनाप्रति आफूहरूको ध्यान गएको जनाएका छन्।
विज्ञप्तिअनुसार, महानगर प्रहरीले गणेश नेपालीको मोटरसाइकलमा ह्वीललक लगाएपछि उनले आत्मदाहको प्रयास गरेका थिए। युनियनले भनेको छ, ‘गरिखाने श्रमिक वर्गमाथि राज्यका निकायहरूको यस्तो व्यवहारप्रति हाम्रो कडा आपत्ति छ।’
युनियनले थपेको छ कि गत जुन महिनाको पहिलो साताभित्र मात्रै अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले प्लाटफर्म क्षेत्रका श्रमिकका लागि ILO अभिसन्धि नम्बर १९३ पारित गरेको अवस्थामा यस्तो घटना घट्नु अत्यन्तै दुःखद छ।
विज्ञप्तिमा राज्यको नीतिमाथि पनि प्रश्न उठाइएको छ। युनियनका अनुसार, एकातर्फ राइडरहरूका लागि महानगरमा पार्किङको व्यवस्था छैन, सुरक्षित सडक छैन, सामाजिक सुरक्षामा जोडिएको छैन भने अर्कोतर्फ सरकारले कुनै संवाद नगरी एकतर्फी रूपमा अत्यधिक जरिवानाको कानुन बनाउन खोज्दा श्रमिक वर्ग उद्वेलित भएका छन्।
‘राज्यका निकायहरूबाट गरिखाने श्रमिक वर्गमाथि भइरहेको यस्तो हेपाइले उनीहरूलाई आत्मदाहसम्म पुर्याउँछ। यसले श्रमिकहरू राज्यविहीन भएको अनुभव गराउँछ। यदि यस्ता घटना दोहोरिइरहे भने श्रमिक वर्ग सडकमा उत्रिनुबाहेक अर्को विकल्प रहँदैन,’ विज्ञप्तिमा भनिएको छ।
युनियनले सरकारसँग यस घटनाको तत्काल छानबिन गरी कानुनबमोजिम दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।
