काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शुक्रबार बिहान निधन भएको छ।
वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको बिहान ११ः२० बजे निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकलाई जानकारी दिए। ‘डाक्टरहरूले उहाँको निधन भएको जानकारी गराएका छन्। बिहान ११ः२० बजेतिर उनको निधन भएको हो,’ उनले भने।
मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका थिए। यस घटनामा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। अनुहार, टाउको, घाँटी र छाती जलेका कारण उनको अवस्था अत्यन्त गम्भीर रहेको डाक्टरहरूले बताएका थिए।
बिहीबार राति उपचारका लागि भारत लैजाने तयारी गरिएकोमा स्वास्थ्य अवस्था झनै जटिल भएपछि चिकित्सकहरूले अस्थिर अवस्थामा नलैजान सुझाव दिएका थिए। वीर अस्पतालका चिकित्सकका अनुसार पहिलो शल्यक्रिया भए पनि उनको अवस्थामा सुधार आउन सकेको थिएन र अन्ततः उपचारकै क्रममा उनको मृत्यु भयो।
