समाचार

दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, ४१ लाखको लागतमा बन्यो स्मृति संरचना

By अर्जुन भट्टराई

दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, ४१ लाखको लागतमा बन्यो स्मृति संरचना

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित ऐतिहासिक दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा ‘मदन भण्डारी पार्क’ निर्माण अन्तिम चरणमा पुगेको छ।

वि.सं. २०५० जेठ ३ गते मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो। उक्त दुर्घटनामा दुवै नेताको निधन भएको थियो। नेपालको राजनीतिक इतिहासमा चर्चित यही घटनास्थललाई संरक्षण गर्दै भावी पुस्तालाई त्यस समयको राजनीतिक इतिहासबारे जानकारी गराउने उद्देश्यले स्मृति पार्क निर्माण सुरु गरिएको हो।

पार्क निर्माणमा सक्रिय मधु गुरुङका अनुसार दासढुंगा क्षेत्रलाई व्यवस्थित स्मृति तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। यसअघि यहाँ आउने पर्यटकका लागि आवश्यक सुविधाको अभाव थियो, जसलाई अब सुधार गरिँदै छ।

मदन भण्डारी फाउण्डेसन पार्क निर्माण समितिका अध्यक्ष नारायण कुमार मगरका अनुसार पार्कको मुख्य निर्माण कार्य करिब साढे दुई महिनामा सम्पन्न भएको छ। पार्क निर्माणमा ४१ लाख रुपैयाँ खर्च भएको छ र बजेट प्रदेशबाट विनियोजन गरिएको हो। हाल केही भुक्तानी प्रक्रिया र सामान्य रेखदेखका काम मात्र बाँकी छन्।

पार्कमा एउटा पुल, दुईवटा गोलघर, कम्पाउण्ड, पानी ट्याङ्की, शौचालय, फूल राख्ने स्थान र कार्यालय भवन निर्माण गरिएको छ। नारायणी किनारसम्म पुग्ने सिँढी, मदन भण्डारी र जीवराज आश्रितको सालिक तथा विभिन्न स्मृति संरचना पनि तयार गरिएका छन्। कार्यालय भवनको केही काम भने अझै बाँकी रहेको अध्यक्ष मगरले जानकारी दिए।

‘पहिले यहाँ त्यस्तो व्यवस्थापन थिएन, अहिले नयाँ संरचनाहरू निर्माण गरेर व्यवस्थित बनाइएको छ,’ अध्यक्ष मगरले भने। पार्क क्षेत्रमा दुबो तथा हरियाली व्यवस्थापन र सौन्दर्यीकरण गरी क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने काम भइरहेको उनले बताए।

स्थानीयवासीले दासढुंगा दुर्घटनास्थल मात्र नभई नेपालको राजनीतिक इतिहास बोकेको महत्वपूर्ण क्षेत्र भएकाले पार्क निर्माणले यसको पहिचान अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। जनताको बहुदलीय जनवादका प्रतिपादकका रूपमा चिनिने मदन भण्डारीको स्मृतिमा बनेको यो पार्क भविष्यमा राजनीतिक अध्ययन, ऐतिहासिक अवलोकन र आन्तरिक पर्यटनको महत्वपूर्ण केन्द्र बन्ने सरोकारवालाहरूले अपेक्षा राखेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.