काठमाडौं। मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय जलन पीडित गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर भएकाले सरकारले उनलाई तत्काल भारत नलैजाने निर्णय गरेको छ।
सुरुमा चिकित्सकहरूको सुझावमा सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा पठाउने सबै तयारी पूरा गरिसकेको थियो। उनको लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरिएको थियो भने भारतको विमानस्थलबाट एम्स अस्पतालसम्म पुर्याउने बन्दोबस्त पनि मिलाइएको थियो। गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर उनलाई तत्काल विमानस्थल पुर्याउन रातभर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरेका थिए। सरकारले उनको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै व्यहोर्ने पनि घोषणा गरेको थियो।
तर वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको अवस्था अस्थिर भएपछि यस्तो अवस्थामा स्थानान्तरण गर्दा ज्यानकै जोखिम हुन सक्ने चिकित्सकहरूले सुझाव दिए। त्यसपछि सरकारले उनको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र भारत लैजाने निर्णय गरेको हो।
गणेश नेपाली बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको शरीरको ५५ प्रतिशत भाग जलेको छ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उनको जीवन रक्षाका लागि अहोरात्र खटिएको छ। टोलीले उनको रक्तचाप नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्था स्थिर बनाउन निरन्तर विशेष औषधिहरू दिइरहेको छ।
गृहमन्त्री गुरुङ र प्रधानमन्त्री बालेन शाहका सचिवालयका सदस्यहरू गएरातिदेखि नै वीर अस्पतालमा स्ट्यान्ड बाइमा खटिइरहेका छन्।
