समाचार

संसदमा कांग्रेस सांसदको आवाजपछि ठोरीमा भारतीय सवारीसाधनलाई अस्थायी पास, पर्यटन व्यवसायले पायो राहत

By अर्जुन भट्टराई

संसदमा कांग्रेस सांसदको आवाजपछि ठोरीमा भारतीय सवारीसाधनलाई अस्थायी पास, पर्यटन व्यवसायले पायो राहत

काठमाडौं । पर्साको ठोरीमा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लागेपछि संकटमा परेको पर्यटन व्यवसायले अब राहत पाएको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले यो विषय उठाएलगत्तै सरकारले तत्काल अस्थायी व्यवस्था लागू गरेको हो।

सांसद थपलियाले असार २२ गतेको प्रतिनिधिसभा बैठकमा ठोरी छोटी भन्सार कार्यालयमा कर्मचारी नहुँदा भारतीय पर्यटकका सवारीसाधनलाई भन्सार प्रक्रिया पूरा नगराई फर्काइएको भन्दै सरकारको ध्यान तानेकी थिइन्। तत्काल कर्मचारी व्यवस्था गरी नियमित भन्सार सेवा सञ्चालन गर्न उनले माग गरेकी थिइन्।

संसदमा विषय उठेको भोलिपल्टै अर्थात् असार २३ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयले ठोरी छोटी भन्सार कार्यालयमा एक जना सुब्बा र एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी खटाएको छ। साथै भारतीय सवारीसाधनका लागि निःशुल्क अस्थायी प्रवेश पास वितरण पनि सुरु भएको छ। तर हालका लागि यो पास लिएर आउने सवारीसाधन ठोरी क्षेत्रभित्र मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत उदयसिंह विष्टका अनुसार दीर्घकालीन व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको छ र थप निर्णय आएपछि सोहीअनुसार व्यवस्था मिलाइनेछ।

उल्लेखनीय छ, असार १९ गतेदेखि सशस्त्र प्रहरीले ‘माथिको आदेश’ भन्दै भारतीय नम्बर प्लेटका निजी सवारीसाधनको नेपाल प्रवेशमा रोक लगाएपछि ठोरीको पर्यटन व्यवसाय बुरी तरह प्रभावित भएको थियो। स्थानीय पर्यटन व्यवसायीहरूले विरोध जनाउँदै प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएर तत्काल समस्या समाधान गर्न माग गरेका थिए।

पछिल्ला वर्षहरूमा ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। भारतीय पर्यटकलाई लक्षित गरी दर्जनौं होटल, रिसोर्ट तथा अन्य पर्यटन पूर्वाधार सञ्चालनमा आएका छन् र सयौंले प्रत्यक्ष रोजगारी पाएका छन्। दैनिक दुई सयभन्दा बढी निजी भारतीय सवारीसाधनमार्फत पर्यटक ठोरी पुग्ने भएकाले स्थानीय अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान छ। यही कारण प्रवेशमा रोक लाग्दा होटल, रिसोर्ट, रेष्टुरेन्ट, यातायात लगायत पर्यटनसँग जोडिएका सबै व्यवसायमा प्रत्यक्ष असर परेको थियो।

अब अस्थायी पासको व्यवस्था सुरु भएसँगै भारतीय पर्यटकको आवागमन पुनः सहज हुने अपेक्षा गरिएको छ। पर्यटन व्यवसायीहरूले भने दीर्घकालीन रूपमा स्पष्ट नीति बनाएर भारतीय सवारीसाधनको सहज प्रवेश सुनिश्चित गर्न सरकारसँग माग गरिरहेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.