समाचार

सुरक्षा, डिजिटल ठमेल र प्रभावकारी सञ्चार मेरो प्राथमिकता : प्रश्रय राजभण्डारी

By अर्जुन भट्टराई

सुरक्षा, डिजिटल ठमेल र प्रभावकारी सञ्चार मेरो प्राथमिकता : प्रश्रय राजभण्डारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रश्रय राजभण्डारीले सुरक्षा व्यवस्थापन, डिजिटल ठमेल र व्यवसायीबीच प्रभावकारी सञ्चार आफ्नो समूहका मुख्य तीन प्राथमिकता रहेको बताएका छन्।

प्रश्रय राजभण्डारी समावेशी समूहका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा बोल्दै उनले परिषद्भित्र व्यवसायी र नेतृत्वबीच बलियो सञ्चार प्रणाली बनाउने प्रतिबद्धता व्यक्त गरे।

‘हाम्रा एजेण्डा र योजनाबारे मैले पटक–पटक भन्दै आएको छु। सर्वप्रथम सुरक्षा व्यवस्थापन, दोस्रो डिजिटल ठमेल र तेस्रो कम्युनिकेशन हो। हामी तपाईंहरू र हाम्रोबीच प्रभावकारी सञ्चारको वातावरण सिर्जना गर्न चाहन्छौँ,’ उनले भने।

राजभण्डारीले आफू व्यवसायीहरूको हित र सत्यको पक्षमा उभिएको बताउँदै यो निर्वाचनलाई व्यावसायिक प्रतिस्पर्धाका रूपमा हेर्नुपर्ने धारणा राखे। ‘यो चुनावमा म किन उठेको भन्दा जहाँ सत्य हुन्छ, त्यहाँ कृष्ण र अर्जुन हुन्छन्। प्रत्येक मतदाता हाम्रो कृष्ण हुनुहुन्छ भने हामी उम्मेदवार पाण्डव हौँ। यो हाम्रो व्यावसायिक चुनाव हो, अनावश्यक चुनाव होइन,’ उनले भने।

कार्यक्रममा उनले युवाहरूलाई नेतृत्वमा अवसर दिनुपर्ने आवश्यकतामा पनि जोड दिए। ‘जब युवाको पालो आउँछ, तब किन युवालाई साइड लगाइन्छ?’ भन्दै उनले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने वातावरण निर्माण गर्नुपर्नेमा आफ्नो प्रतिबद्धता व्यक्त गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.