चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित ऐतिहासिक दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा ‘मदन भण्डारी पार्क’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
वि.सं. २०५० जेठ ३ गते मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो। उक्त दुर्घटनामा दुवै नेताको निधन भएको थियो। नेपालको राजनीतिक इतिहासमा चर्चित बनेको यस घटनास्थललाई संरक्षण गर्दै भावी पुस्तालाई जानकारी दिने उद्देश्यले पार्क निर्माण सुरु गरिएको हो।
मदन भण्डारी फाउण्डेसन पार्क निर्माण समितिका अध्यक्ष नारायण कुमार मगरका अनुसार पार्कको मुख्य निर्माण कार्य करिब साढे दुई महिनामा सम्पन्न भएको छ। पार्क निर्माणमा प्रदेश सरकारबाट विनियोजित ४१ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए। केही भुक्तानी प्रक्रिया र सामान्य रेखदेखका काम भने अझै बाँकी रहेको उनले बताए।
पार्कमा एउटा पुल, दुईवटा गोलघर, कम्पाउण्ड, पानी ट्याङ्की, शौचालय, फूल राख्ने स्थान र कार्यालय भवन निर्माण गरिएको छ। नारायणी नदी किनारसम्म पुग्ने सिँढी पनि निर्माण गरिएको छ। साथै मदन भण्डारी र जीवराज आश्रितका सालिकसहित विभिन्न स्मृति संरचना पनि तयार पारिएका छन्। कार्यालय भवनको केही काम अझै बाँकी रहेको अध्यक्ष मगरले जानकारी दिए।
पार्क निर्माणमा सक्रिय मधु गुरुङका अनुसार यसअघि दासढुंगा आउने पर्यटकका लागि आवश्यक सुविधाको अभाव थियो। अहिले पर्यटकमैत्री संरचना निर्माण गरेर क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाइएको छ।
‘पहिले यहाँ त्यस्तो व्यवस्थापन थिएन, अहिले नयाँ संरचनाहरू निर्माण गरेर व्यवस्थित बनाइएको छ,’ अध्यक्ष मगरले भने। पार्क क्षेत्रमा दुबो तथा हरियाली व्यवस्थापन र सौन्दर्यीकरणका काम पनि गरिएका छन्।
स्थानीयवासीले दासढुंगा दुर्घटनास्थल मात्र नभई नेपालको राजनीतिक इतिहास बोकेको महत्वपूर्ण क्षेत्र भएकाले पार्क निर्माणले यसको पहिचान अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
जनताको बहुदलीय जनवादका प्रतिपादकका रूपमा परिचित मदन भण्डारीको विचार र योगदानको स्मरणमा निर्माण गरिएको यस पार्कले भविष्यमा राजनीतिक अध्ययन, ऐतिहासिक अवलोकन र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुने सरोकारवालाहरूले अपेक्षा राखेका छन्। साथै यसले स्थानीयस्तरमा रोजगारी सिर्जना र चितवनको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
