समाचार

मिडियाको ‘मास म्यानिपुलेसन’ र युवा नेतृत्वमाथिको प्रहार : प्रबिन भट्टराईको प्रतिक्रिया

By अर्जुन भट्टराई

मिडियाको ‘मास म्यानिपुलेसन’ र युवा नेतृत्वमाथिको प्रहार : प्रबिन भट्टराईको प्रतिक्रिया

काठमाडौं । ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईले हालसालै विभिन्न सञ्चार माध्यमहरूमा आफूविरुद्ध भएको दुष्प्रचारलाई ‘मास म्यानिपुलेसन’ भन्दै कडा आपत्ति जनाएका छन् ।

३६ वर्षीय भट्टराईले भने, ‘मेरो करियरको प्रारम्भिक चरणलाई तोडमोड गरी अत्यन्त तल्लो स्तरको भाषामा चरित्रहत्या गर्ने जुन प्रयास भयो, त्यसले मेरो आत्मसम्मानमा मात्र चोट पुर्‍याएको छैन, हाम्रो देशको पत्रकारिताको स्तर र राजनीतिक नियतमाथि नै ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ ।’

भट्टराईले स्पष्ट पारे कि उनले २३÷२४ वर्षको उमेरमा स्नातक तह पूरा नहुँदै खुला प्रतिस्पर्धा र लोक सेवा आयोगको कडा प्रक्रिया पार गरेर नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको ‘रेस्क्यु एन्ड फायर फाइटिङ’ विभागमा स्थायी जागिर पाएका थिए । उनले भने, ‘त्यो मेरो लागि लज्जाको विषय होइन, उड्डयन क्षेत्रलाई भुइँतहबाट बुझ्ने मेरो सबैभन्दा बलियो जग थियो ।’

पछि उनले फ्रान्स सरकारको प्रतिस्पर्धात्मक छात्रवृत्ति हासिल गरी युरोपको प्रतिष्ठित इएनएसी एभिएसन विश्वविद्यालयबाट मानवरहित विमान प्रणाली (ड्रोन प्रविधि) मा स्नातकोत्तर गरे । सिंगापुरको मरीना बे स्यान्ड्समा आयोजित ‘इन्टर एयरपोर्ट साउथइस्ट एसिया २०२३’ सम्मेलनमा मलेसियन एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत र आइएटिएका क्षेत्रीय प्रमुखहरूसँग मञ्च साझा गरे । यसका साथै क्यानडा एभिएसन कलेजमा नागरिक उड्डयन सुरक्षा व्यवस्थापन र विमान चालकदल व्यवस्थापन जस्ता विषय पढाएर अन्तर्राष्ट्रिय सम्मान पनि आर्जन गरे ।

यही योग्यता र अनुभवका आधारमा नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यको भूमिकामा पुगेका भट्टराईले आरोप लगाए कि आफूलाई त्यो पदबाट हटाउनकै लागि नियोजित रूपमा विगतलाई बङ्ग्याइएको थियो । उनले भने, ‘यसले पुष्टि गर्छ कि यो देशको प्रणाली अझै पनि योग्य र दक्ष युवाहरूलाई नीतिनिर्माण तहमा स्वीकार गर्न तयार छैन ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उदाहरण दिँदै उनले भने, ‘मोदी कुनै दिन चिया बेच्नुहुन्थ्यो, आज विश्वकै विशाल लोकतन्त्रको प्रधानमन्त्री हुनुहुन्छ । भारतीय मिडियाले त्यसलाई प्रेरणाको कथा बनाउँछ । तर हाम्रो देशका केही पीत पत्रकारहरू एउटा युवाको इमानदार सुरुवातलाई हतियार बनाएर उसको वर्तमान योग्यतालाई सखाप पार्न उद्धत हुन्छन् ।’

हाल ड्रोन हब नेपालको प्रबन्ध निर्देशक र मानव रहित विमान संघ नेपालको महासचिवका रूपमा कार्यरत भट्टराई लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत नेपालकै पहिलो मानव रहित हवाइ प्रणाली व्यवस्थापन कोर्सको पाठ्यक्रम संवर्द्धन समितिको अध्यक्ष तथा फ्याकल्टी हेडको रूपमा पनि काम गरिरहेका छन् ।

उनले अन्त्यमा भने, ‘पद सानो वा ठुलो हुन्न, व्यक्तिको दृष्टिकोण र क्षमता ठुलो हुन्छ । मिडियाको यस्तो मास म्यानिपुलेसनले मेरो परिश्रम र योग्यतालाई कत्ति पनि कम गर्न सक्दैन । यो प्रहारले मलाई कमजोर होइन, नेपालको उड्डयन र ड्रोन प्रविधिको विकासमा थप दृढताका साथ लाग्न झन बलियो ऊर्जा दिनेछ ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.