इलाम । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि बिहीबार बिहानदेखि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।
निरन्तरको वर्षा, कमजोर भूबनोट र जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर बगेको हो। यसले गर्दा पूर्वी पहाडी जिल्लाहरूको मुख्य जीवनरेखा मानिने यो राजमार्ग अवरुद्ध भएको छ। इलाम, पाँचथर र ताप्लेजुङलाई झापा (तराई) सँग जोड्ने यो मार्ग विच्छेद हुँदा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक गाडी, बिरामी बोकेका एम्बुलेन्स र सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
तराईतर्फबाट पहाड आउँदै गरेका गाडीहरू माइखोला बजार क्षेत्रमा र पहाडबाट झापातर्फ जाँदै गरेका गाडीहरू गोलाखर्क भञ्ज्याङ क्षेत्रमा रोकिएका छन्। बाध्य भएका यात्रु हिँडेरै जोखिमपूर्ण बाटो पार गर्दैछन्।
सबैभन्दा कठिन अवस्था बिरामीहरूको छ। पहाडी जिल्लाहरूमा सुविधासम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि झापा वा विराटनगर रेफर गरिएका बिरामीलाई हिलो र जोखिमपूर्ण सडकमा स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता छ। त्यस्तै इलाम र पाँचथरका किसानहरूले उत्पादन गरेको दूध र तरकारी जस्ता कुहिने सामान बजारसम्म पुर्याउन नपाउँदा लाखौँको आर्थिक क्षति भएको स्थानीय व्यवसायीहरू बताउँछन्।
सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालयले अवरोध हटाउन स्काभेटर र जनशक्ति परिचालन गरेका छन्, तर वर्षा नरोकिएकाले काममा अवरोध पुगिरहेको छ। सडक डिभिजनका अनुसार सडकको ठूलो हिस्सा खोलातर्फ खसेकाले केवल पहिरो पन्छाएर तत्काल सडक खोल्न सम्भव छैन। खोलाको बगरबाटै ठूलो ग्याबियन पर्खाल निर्माण गरेपछि मात्र दीर्घकालीन रूपमा सडक सञ्चालनमा आउन सक्ने अवस्था छ।
मुख्य राजमार्ग ठप्प भएपछि वैकल्पिक मार्गको खोजी गरिए पनि राहत मिलेको छैन। बेलासे–इलाम वैकल्पिक सडक प्रयोग गर्न खोजिए पनि मेची करिडोर सडक अन्तर्गत पुवाखोलामा पुल नहुँदा साना, ठूला र मालवाहक सवारी साधन वारपार गर्न सकेका छैनन्। बाढी र हिलोका कारण यो मार्ग पनि भरपर्दो छैन।
स्थानीय प्रशासन र प्रहरीको समन्वयमा सिमल गोलाई–तिल्किने सडक खण्डबाट जिप र ट्याक्सी जस्ता साना सवारी साधन आंशिक रूपमा सञ्चालन गराइएको छ। तर ग्रामीण सडक साँघुरो र हिलाम्मे भएकाले यसमा पनि निकै जोखिम र ढिलाइ भइरहेको छ। ठूला बस र मालवाहक गाडी पूर्ण रूपमा रोकिँदा यात्रुहरू हिँडेरै वा साना गाडी परिवर्तन गर्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
