काठमाडौं। सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। यस निर्णयसँगै गेटा अस्पताल अब उक्त विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालनमा आउने भएको छ। यसबाट विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारका साथै चिकित्साशास्त्र अध्ययन–अध्यापन, अनुसन्धान र स्वास्थ्य जनशक्ति उत्पादनको बाटो खुल्ने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको गेटा अस्पताल लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन। अस्पताललाई शिक्षण अस्पतालका रूपमा रूपान्तरण गर्ने विषयमा विभिन्न चरणमा नीतिगत तयारी र छलफल भइरहेको थियो।
सरकारको यो स्वीकृतिपछि अब अस्पतालको संस्थागत संरचना निर्माण, शैक्षिक कार्यक्रम सञ्चालन र आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
