समाचार

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा, एकीकृत पोर्टल सञ्चालनमा आयो

By अर्जुन भट्टराई

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा, एकीकृत पोर्टल सञ्चालनमा आयो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूको प्रगति, बजेट परिचालन र समस्या व्यवस्थापन वास्तविक समयमै हेर्न सकिने गरी एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ।

पहिलो चरणमा सिक्टा, रानी जमरा–कुलरिया, भेरी–बबई, सुनकोशी–मरिन, महाकाली र बबई सिँचाइ आयोजनालाई यस पोर्टलमा समावेश गरिएको छ। आगामी चरणमा अन्य सिँचाइ आयोजनाहरूलाई पनि क्रमशः यही प्रणालीमा जोडिने मन्त्रालयले जनाएको छ।

मन्त्री विराज भक्त श्रेष्ठले हालै सिक्टा, रानी जमरा–कुलरिया, भेरी–बबई र बबई सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गरेपछि आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो प्रणाली ल्याइएको मन्त्रालयले बताएको छ।

पोर्टल सञ्चालनमा आएपछि मन्त्री तथा मन्त्रालयका सचिवले आफ्नै कार्यकक्षबाट आयोजनाको भौतिक तथा वित्तीय प्रगति, बजेट खर्च, ठेक्का व्यवस्थापन, निर्माणको अवस्था र समस्याहरू सिधै हेर्न सक्नेछन्। यसबाट उच्च तहबाटै नियमित अनुगमन हुने मन्त्रालयको विश्वास छ।

अघिल्लो व्यवस्थामा आयोजनाको वास्तविक अवस्थाबारे जानकारी स्थलगत निरीक्षण वा आर्थिक वर्षको अन्त्यमा आउने प्रतिवेदनबाट मात्र थाहा हुन्थ्यो। पटक–पटक म्याद थपिएका आयोजनाको प्रगति समयमै मूल्यांकन गर्न पनि कठिन हुने गरेको थियो। नयाँ प्रणालीले यस समस्यालाई अन्त्य गर्ने अपेक्षा गरिएको छ।

अब प्रत्येक आयोजना प्रमुखले हरेक साता भौतिक प्रगति, वित्तीय अवस्था, ठेक्का कार्यान्वयन, दाबी, विवाद, निर्माणमा देखिएका अवरोध र समाधानका प्रयासबारे विवरण अनिवार्य रूपमा पोर्टलमा प्रविष्ट गर्नुपर्ने छ।

यो डिजिटल प्रणालीले आयोजनाका समस्याहरू नक्सासहित देखाउने, स्वचालित प्रगति प्रतिवेदन तयार गर्ने र कुन कार्यप्याकेज किन ढिलो भएको, कति समयदेखि समस्या रहेको र समाधानको जिम्मेवारी कुन निकाय वा व्यक्तिमा छ भन्ने विवरण पनि स्पष्ट रूपमा प्रस्तुत गर्नेछ।

मन्त्रालयका अनुसार यो पोर्टललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको अनुगमन प्रणालीसँग पनि एकीकृत गरिनेछ, जसबाट विभिन्न सरकारी निकायहरूले एउटै तथ्यांकका आधारमा निर्णय लिन सक्ने वातावरण तयार हुने अपेक्षा राखिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.