काठमाडौं । घरखर्च चलाउन लिएको साधारण डेढ लाख रुपैयाँको ऋणले सर्लाही बरहथवा नगरपालिका–९ का भागनारायण महतो र उनकी पत्नी उमाकुमारीको सम्पूर्ण जीवन तहसनहस बनाइदिएको छ। अहिले यो दम्पती न्यायको माग गर्दै विगत ९६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन्।
भागनारायण महतोका अनुसार २०७२ सालमा उनकी पत्नी उमाकुमारीले घरखर्च धान्न छिमेकी निशान मैनालीको परिवारबाट डेढ लाख रुपैयाँ ऋण लिएकी थिइन्। तर त्यो ऋण लिएको मात्र चार दिनमै १० लाख रुपैयाँको तमसुक बनाइयो। उनको आरोप छ कि वास्तविक कारोबारभन्दा कयौं गुणा बढी रकमको कागज तयार गरी आफूहरूलाई फसाइयो।
‘हामीले डेढ लाख रुपैयाँ ऋण लिएका थियौँ। केही दिनमै ठूलो रकमको तमसुक बनाइयो। त्यसपछि हाम्रो जग्गा पनि गयो। आजसम्म ६०–६५ लाख रुपैयाँसम्म बुझाइसकेका छौँ, तर अझै ऋणबाट मुक्त हुन सकेका छैनौँ,’ महतोले बताए।
महतोले आफ्नी पत्नी सामान्य लेखपढ गर्न पनि नसक्ने भएकाले कागजमा के लेखिएको छ भन्ने थाहा नै नपाई हस्ताक्षर गर्नु परेको र त्यसैको फाइदा उठाइएको बताए। ‘विश्वास गरेर हस्ताक्षर गरियो। पछि थाहा भयो कि हाम्रो सम्पत्ति नै गइसकेको रहेछ,’ उनले भने।
यो दम्पतीले समस्या समाधानका लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म धाए। तर जहाँ पुगे पनि आश्वासन मात्र पाए, न्याय भने पाएनन्। केही समयअघि गृहमन्त्री सुदन गुरुङ आफैँ माइतीघर पुगेर महतो दम्पतीसँग भेट गरे र छानबिन तथा अनुसन्धान गर्ने आश्वासन दिए। तर भेट भएको लामो समय बितिसक्दा पनि ठोस कदम नचालिएको महतोको गुनासो छ।
‘ठूला मानिसको समस्या समाधान गर्न वर्षौँ लाग्न सक्छ, तर सामान्य नागरिकको समस्या सरकारले छिटो सुन्नुपर्छ,’ उनले भने।
महतो दम्पतीको मुख्य माग छ — जग्गा हस्तान्तरण प्रक्रियामा संलग्न सबै पक्षमाथि निष्पक्ष अनुसन्धान होस् र दोषीमाथि कानुनअनुसार कारबाही होस्। साथै यो आर्थिक संकटले उनीहरूका छोराछोरीको पढाइसमेत रोकिएको र उनीहरू सानै उमेरदेखि रोजगारी खोज्न बाध्य भएको महतोले बताए।
‘मेरो सम्पत्ति मात्र गुमेन, छोराछोरीको भविष्य पनि प्रभावित भयो। यो पीडा कसले बुझ्ने ?’ उनले भने।
महतोले मिटर ब्याजको समस्याबाट आफूजस्ता देशभर धेरै नागरिक पीडित रहेको बताउँदै सरकारले ऋण कारोबारलाई पारदर्शी बनाउन, गैरकानुनी ब्याज असुली रोक्न र पीडितको उजुरी छिटो सम्बोधन गर्न दीर्घकालीन समाधान खोज्नुपर्ने माग गरे।
‘ऋण लिनु अपराध होइन। तर ऋणको नाममा मानिसको घरजग्गा र जीवन नै समाप्त पार्ने काम रोक्नुपर्छ,’ उनले भने।
नयाँ सरकार गठनसँगै न्याय पाउने आशामा काठमाडौं आएका यी दम्पतीले माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका छन्। ‘हामी वृद्ध मानिस हौँ। धेरै समयसम्म सडकमा बस्न चाहँदैनौँ। तर न्याय नपाएसम्म हाम्रो संघर्ष जारी रहन्छ,’ भागनारायण महतोले भने।
