काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ।
महाशाखाले जनाएअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसका साथै देशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ। मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।
आज राती देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ। पहाडी र तराई भू-भागका केही स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना छ।
राती कोशी प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थान, मधेश प्रदेश र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
