काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले स्वदेशी सफ्टवेयर उद्योगको विकास, रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन सरकारले स्पष्ट सफ्टवेयर खरिद निर्देशिका लागू गर्नुपर्ने र अनुगमन, मूल्यांकन तथा अनुसन्धान एवं विकासका लागि छुट्टै संस्थागत इकाइ स्थापना गर्नुपर्ने माग गरेको छ।
यो माग क्यान महासंघको सफ्टवेयर तथा सेवा समितिले प्रेसिडेन्सियल कलेजको सहकार्यमा काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा आयोजना गरेको नीतिगत अन्तरक्रिया कार्यक्रममा उठाइएको हो। ‘केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार ? नेपाली प्रविधि र रोजगारीको भविष्य’ विषयक सो कार्यक्रममा सूचना प्रविधि उद्यमी, सफ्टवेयर विकासकर्ता, नीति निर्माता, शिक्षाविद्, स्टार्टअप प्रतिनिधि तथा सञ्चारकर्मीहरू सहभागी थिए।
कार्यक्रममा सहभागीहरूले सरकार र निजी क्षेत्रबीच प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक रहेको बताए। छलफलमा सरकारी निकायले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुको सट्टा नीति निर्माण, नियमन, साइबर सुरक्षा, साझा डिजिटल पूर्वाधार निर्माण र पारदर्शी सार्वजनिक खरिद प्रणाली विकासमा सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो।
सहभागीहरूले सरकारी सूचना प्रविधि खरिदलाई सामान्य खर्चका रूपमा मात्र नभई स्वदेशी प्रविधि उद्योगको क्षमता बढाउने, रोजगारी विस्तार गर्ने र सफ्टवेयर निर्यात प्रवर्द्धन गर्ने रणनीतिक लगानीका रूपमा लिनुपर्ने सुझाव दिए। नेपाली सफ्टवेयर उद्योगलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउन अनुसन्धान तथा विकास, साइबर सुरक्षा मापदण्ड, सार्वजनिक–निजी साझेदारी र प्रविधि समाधानलाई प्रोत्साहन गर्ने एकीकृत नीति आवश्यक रहेको पनि उनीहरूले औँल्याए।
कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सफ्टवेयर उद्योगको दीर्घकालीन विकाससम्बन्धी अवधारणापत्र प्रस्तुत गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। स्वदेशी सफ्टवेयर उद्योगको दिगो विकासका लागि सफ्टवेयर खरिद निर्देशिका, सफ्टवेयर उत्पादनका लागि वित्तीय व्यवस्था र सफ्टवेयर स्टार्टअपलाई कर छुट जस्ता नीतिगत व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने उनको माग थियो।
