समाचार

काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’: सीसीटिभीबाटै ४०–५० प्रतिशत कारबाही, उद्देश्य राजस्व होइन सुरक्षा

By अर्जुन भट्टराई

काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’: सीसीटिभीबाटै ४०–५० प्रतिशत कारबाही, उद्देश्य राजस्व होइन सुरक्षा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले प्रविधिको प्रयोग तीव्र रूपमा बढाइरहेको छ। सीसीटिभी क्यामेराको माध्यमबाट निगरानी, ट्राफिक प्रवाह विश्लेषण र नियम उल्लंघन गर्नेमाथि कारबाही गर्दै प्रहरीले ‘फेसलेस ट्राफिकिङ’ प्रणाली विस्तार गरिरहेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार हाल उपत्यकामा हुने जम्मा ट्राफिक कारबाहीमध्ये करिब ४० देखि ५० प्रतिशत सीसीटिभी निगरानीकै आधारमा भइरहेको छ। प्रविधिको यो प्रयोगले ट्राफिक व्यवस्थापनलाई पारदर्शी र विवादरहित बनाएको उनको भनाइ छ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा एसएसपी काफ्लेले भने, ‘हाम्रो उद्देश्य फेसलेस ट्राफिकिङ हो। सडकमा ट्राफिक प्रहरी र नागरिकबीच हुने अनावश्यक विवाद अन्त्य गर्दै प्रविधिमार्फत कारबाहीलाई प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ।’ उनले थपे कि सीसीटिभीबाट प्राप्त भिडियो प्रमाणकै आधारमा कारबाही गरिने भएकाले कसैले विवाद गर्न पाउने ठाउँ रहँदैन।

ट्राफिक प्रहरीलाई राजस्व संकलन गर्ने निकाय ठान्ने धारणालाई एसएसपी काफ्लेले गलत भनी स्पष्ट पारे। उनले भने, ‘हाम्रो प्रमुख दायित्व राजस्व संकलन गर्नु होइन, सडक नियम पालना गराउनु हो। नागरिकले नियम पालना गरिदिनुभयो भने जरिवाना गर्नुपर्ने अवस्था नै आउँदैन।’

**दैनिक दुई हजारभन्दा बढी कारबाहीमा**

कार्यदिनमा औसत दुई हजारभन्दा बढी सवारी चालक ट्राफिक कारबाहीमा पर्ने गरेका छन्। एसएसपी काफ्लेका अनुसार यो संख्या बढ्नुको अर्थ राजस्व बढाउने होइन, बरु नियम उल्लंघन रोक्ने प्रयास हो। उनले भने, ‘गल्तीको प्रकृतिअनुसार जरिवाना उठ्ने हो। नियम उल्लंघन गर्नेलाई सचेत गराउने र सोही गल्ती दोहोरिन नदिन कानुन लागू गरिएको हो।’

**देशभर दैनिक सात–आठ जनाको मृत्यु**

नेपालमा सडक दुर्घटनाको अवस्था अझै चिन्ताजनक रहेको बताउँदै एसएसपी काफ्लेले देशभर दैनिक औसत सात देखि आठ जनाले ज्यान गुमाउने र करिब २० जना गम्भीर घाइते हुने तथ्यांक रहेको जानकारी दिए। यो मृत्युदर घटाउनु नै ट्राफिक प्रहरीको मुख्य दायित्व भएको उनले स्पष्ट पारे।

**दुर्घटनाका मुख्य कारण**

काठमाडौं उपत्यकामा दुर्घटना बढ्नुका पछाडि तीव्र गति, लेन अनुशासनको उल्लंघन, निषेधित स्थानमा यू–टर्न गर्ने, ट्राफिक बत्तीको उल्लंघन र असावधानीपूर्ण सवारी सञ्चालन मुख्य कारण रहेका छन्। विशेषगरी चक्रपथ क्षेत्रमा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति दुर्घटनाको ठूलो कारण बनेको एसएसपी काफ्लेको भनाइ छ। उनले भने, ‘जहाँ पूर्वाधार कमजोर छ, त्यहाँ झन् बढी सडक अनुशासन आवश्यक हुन्छ।’

**सरकारको सहयोग र नागरिकसँग आग्रह**

वर्तमान सरकारले सडक सुरक्षा सुधार र ट्राफिक व्यवस्थापनका लागि आवश्यक सहयोग गरिरहेको एसएसपी काफ्लेले बताए। उनले भने, ‘कुनै पनि देशको समृद्धिको सुरुवात ट्राफिक र रोड सेन्सबाट हुन्छ।’

ट्राफिक नियम उल्लंघन, सडक अवरोध वा ट्राफिक प्रहरीको व्यवहारबारे गुनासो भएमा सर्वसाधारणले टोल–फ्री नम्बर १०३ मा फोन गर्न सक्ने उनले जानकारी दिए। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको फेसबुक पेज र वेबसाइटमार्फत फोटो तथा भिडियोसहित उजुरी दर्ता गर्न पनि सकिने व्यवस्था रहेको छ।

एसएसपी काफ्लेले सबै सडक प्रयोगकर्तालाई जेब्रा क्रसिङ र ओभरहेड ब्रिज प्रयोग गर्न, लेन अनुशासन कायम गर्न, तीव्र गतिमा सवारी नचलाउन र अनावश्यक हर्न प्रयोग नगर्न आग्रह गरे। उनले भने, ‘हाम्रो चाहना नागरिकलाई कारबाही गर्नु होइन, सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु हो। सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र होइन, प्रत्येक नागरिकको साझा दायित्व हो।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.