काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व अर्थतन्त्रमा राजनीतिक तनाव र अनिश्चितता कायमै रहँदा पनि नेपालको आन्तरिक अर्थतन्त्र भने क्रमशः सुधारको बाटोमा अघि बढिरहेको प्रतिवेदनले देखाएको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति नियन्त्रणमै रह्यो । यस अवधिमा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको प्रतिवेदनमा उल्लेख छ ।
बाह्य क्षेत्र पनि सबल अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ । देशको विदेशी विनिमय सञ्चिति थप बलियो बन्दै गएको छ र हालको सञ्चितिले १९.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विश्व बजारमा भूराजनीतिक तनाव र आर्थिक चुनौती कायम रहँदा पनि नेपालको बाह्य क्षेत्र सन्तुलित रहेको र समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक दिशातर्फ अघि बढिरहेको राष्ट्र बैंकको निष्कर्ष छ ।
समीक्षाले मूल्य स्थिरता कायम राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यअनुसार वित्तीय क्षेत्रका सूचकहरूमा सुधार आएको पनि औंल्याएको छ । राष्ट्र बैंकले आगामी दिनमा आन्तरिक उत्पादन, लगानी विस्तार र आर्थिक गतिविधिलाई थप गतिशील बनाउने गरी मौद्रिक व्यवस्थापन जारी राख्ने बताएको छ ।
