काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाविरुद्ध मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) को कसुरमा औपचारिक अनुसन्धान सुरु गरेको छ।
विभागले आइतबार (असार २३ गते) सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। डडेलधुरा जिल्लाको साबिक आसिग्राम गाविस वडा नं. ५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२, बुढानीलकण्ठ बस्ने ३१ वर्षीय जयवीरलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ अन्तर्गत यो सूचना दिइएको हो।
सूचनाअनुसार जयवीरले सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा रहेको विभागको कार्यालयमा उपस्थित हुनुपर्नेछ।
विभागले जयवीरमाथि शंकास्पद तरिकाले धन आर्जन गरी विभिन्न क्षेत्रमा लगानी गरेको आशंकामा लामो समयदेखि सूक्ष्म निगरानी राख्दै आएको थियो। उनका नाममा रहेका केही व्यावसायिक कम्पनीहरूमा भएको लगानीको स्रोत नखुलेपछि विभागले अनुसन्धान थालनी गरेको हो। यसका साथै विवादास्पद व्यवसायी दिपक भट्टसँग उनको व्यावसायिक सम्बन्ध रहेको पाइएपछि पनि विभागले आफ्नो निगरानी थप कडा बनाएको थियो। उल्लेखनीय छ कि व्यवसायी भट्ट र उनका साझेदार सुलभ अग्रवाल हाल पुर्पक्षका लागि थुनामा छन्।
विभाग स्रोतका अनुसार यसअघि पनि जयवीरलाई सम्पर्क गर्ने प्रयास गरिएको थियो, तर उनी मुलुकबाहिर रहेको र सम्पर्कमा नआएकाले अन्तमा सार्वजनिक सूचना नै जारी गर्नुपरेको हो।
विभागले सूचनामा स्पष्ट उल्लेख गरेको छ कि तोकिएको म्यादभित्र उपस्थित नभएमा प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाइनेछ। मनी लाउन्डरिङ मुद्दामा अनुसन्धान अधिकृतले बयानका लागि बोलाउँदा उपस्थित नहुनुलाई अनुसन्धानमा असहयोग मानिने र यसले कानुनी जटिलता थप बढाउन सक्ने प्रावधान रहेको छ।
