अर्थ

धान रोपाइँ गत वर्षभन्दा झण्डै १३ प्रतिशत पछाडि, मधेशमा सबैभन्दा कम प्रगति

By अर्जुन भट्टराई

धान रोपाइँ गत वर्षभन्दा झण्डै १३ प्रतिशत पछाडि, मधेशमा सबैभन्दा कम प्रगति

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को असार २२ गतेसम्म देशभर कुल धान रोपाइँ ३२.३८ प्रतिशत मात्रै सम्पन्न भएको छ। गत वर्षको यही अवधिमा ४५ प्रतिशत रोपाइँ भएको थियो, अर्थात् यस वर्ष १२.६२ प्रतिशत बिन्दुले कम छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशभर १३ लाख ७ हजार ६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ४ लाख ४३ हजार ५५९.०९ हेक्टरमा मात्र रोपाइँ भएको छ।

प्रदेशगत तुलना गर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७.९ प्रतिशत रोपाइँ भएको छ। त्यसपछि गण्डकी प्रदेशमा ४१ प्रतिशत, कर्णाली प्रदेशमा ४०.५ प्रतिशत, लुम्बिनी प्रदेशमा ३७.३ प्रतिशत र बागमती प्रदेशमा ३३.२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कोशी प्रदेशमा ३१.५ प्रतिशत पुगेको छ भने मधेश प्रदेशमा सबैभन्दा कम १५.६ प्रतिशत मात्रै रोपाइँ भएको छ।

गत वर्षको यही समयमा भने सुदूरपश्चिममा ६२.८ प्रतिशत, कर्णालीमा ६७.७ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, लुम्बिनीमा ५२.१ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत, कोशीमा २९.५ प्रतिशत र मधेशमा २५.१ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो।

यस वर्ष कोशी प्रदेशमा मात्र गत वर्षको तुलनामा सामान्य सुधार देखिएको छ। अन्य सबै प्रदेशमा रोपाइँको गति सुस्त रहेको छ।

कृषि विज्ञहरूका अनुसार यस वर्ष पर्याप्त वर्षा ढिलो हुनु, कतिपय क्षेत्रमा सिँचाइको अभाव र रोपाइँका लागि अनुकूल मौसम समयमै नबन्नु नै धान रोपाइँ अपेक्षाअनुसार अघि नबढ्नुका प्रमुख कारण हुन सक्ने अनुमान गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.