इलाम । इलाम जिल्लाका दुई गाउँपालिकाले मातृभाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिँदै भाषिक समावेशीकरणतर्फ ऐतिहासिक कदम चालेका छन्।
चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ। गाउँसभाको १८औं अधिवेशनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममा यो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। यसलाई कानुनी आधार दिन पालिकाले ‘लिम्बू भाषा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक, २०८३’ पनि पारित गरिसकेको छ।
अध्यक्ष केरुङका अनुसार यस निर्णयले मातृभाषीहरूको सम्मान हुनुका साथै रैथाने भाषाको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान पुग्नेछ। राष्ट्रिय जनगणना २०७८ अनुसार चुलाचुलीमा नेपाली भाषापछि सबैभन्दा बढी २३.०२ प्रतिशत नागरिक लिम्बू भाषा बोल्छन् भने १०.८० प्रतिशत वान्तवा भाषी रहेका छन्।
अर्कोतर्फ, माङसेबुङ गाउँपालिकाले गत जेठ १२ गतेदेखि नै लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गरिसकेको छ। अब पालिकाले एक कदम अगाडि बढ्दै वान्तवा भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ। गाउँसभाको १८औं अधिवेशनमा गाउँपालिका अध्यक्ष हेमन्त राईले राखेको यो प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको हो। जनगणना २०७८ अनुसार माङसेबुङमा ४१.६७ प्रतिशत लिम्बू र २३.५९ प्रतिशत वान्तवा भाषा बोल्ने नागरिक छन्।
भाषिक सेवालाई व्यावहारिक बनाउन माङसेबुङले दोभाषे कर्मचारीको व्यवस्था पनि गरेको छ। पालिकामा हाल एक जना लिम्बू भाषाका दोभाषे कर्मचारी कार्यरत छन् भने आगामी वर्षदेखि वान्तवा भाषाका लागि पनि एक जना दोभाषे नियुक्त गरिने अध्यक्ष राईले बताए।
