काठमाडौं । आफ्नै श्रीमान कृष्णकुमार दर्नाल र उनको परिवारले विवाहपूर्व वैदेशिक रोजगारीबाट कमाएको सम्पत्ति हत्याउन आफूलाई करिब ७५ लाख रुपैयाँको आर्थिक तथा कानुनी झमेलामा फसाएको आरोप सुकुमाया गुइदेलले लगाएकी छन्।
सोमबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै गुइदेलले आफ्नो पीडा सार्वजनिक गरिन्। उनले श्रीमान कृष्णकुमार दर्नाल, जेठाजु सूर्यप्रसाद दर्नाल (हाल जर्मनी निवासी), चन्द्रबहादुर परियार, महेन्द्र केसी र प्रकाश शर्मा लगायतको मिलेमतोमा आफूलाई यो झमेलामा पारिएको दाबी गरिन्।
गुइदेलका अनुसार विवाहअघि करिब ११ वर्ष वैदेशिक रोजगारी गरेर कमाएको सम्पत्तिमाथि नियन्त्रण गर्ने उद्देश्यले परिवारका सदस्यहरूले भावनात्मक दबाब दिँदै उनको नाम र बैंक खाता विभिन्न आर्थिक कारोबारमा प्रयोग गरे। त्यसका कारण अहिले उनी बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दा खेप्न बाध्य छन्।
उनले बताएअनुसार २०७८ सालमा जेठाजु सूर्यप्रसाद दर्नाल र उनकी तत्कालीन श्रीमती हरिमाया रिमालबीचको अंश तथा नाता कायमसम्बन्धी विवाद मिलाउने क्रममा आफ्नो खातामार्फत ४५ लाख रुपैयाँ हरिमाया रिमालको खातामा पठाइयो। थप ८ लाख रुपैयाँ नगद बुझाइयो र बाँकी १७ लाख रुपैयाँको चेक पनि आफ्नै नामबाट जारी गराइएको उनले जानकारी दिइन्।
सोही घटनाका कारण ५० लाख रुपैयाँको चेक अनादर मुद्दामा आफूले १४ दिन हिरासतमा बस्नुपरेको र १७ लाख रुपैयाँको अर्को चेक अनादर मुद्दामा अदालतको फैसला भइसकेकाले जेल जाने जोखिममा रहेको उनले बताइन्।
गुइदेलले थपिन् कि श्रीमान कृष्णकुमार दर्नाल २०८० सालदेखि सम्पर्कमा छैनन्, १० वर्षीया छोरीको पालनपोषणको जिम्मेवारी पनि लिएका छैनन् र सम्बन्ध विच्छेद तथा अंशसम्बन्धी मुद्दा दायर गरेर आफूलाई थप समस्यामा पारेका छन्।
पत्रकार सम्मेलनमा उनले आफूलाई निरन्तर मानसिक तनाव, सामाजिक दबाब र ज्यान मार्ने धम्की आएको बताइन्। आफ्नो र छोरीको सुरक्षामा गम्भीर जोखिम रहेको भन्दै उनले नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग सुरक्षा र निष्पक्ष छानबिनको माग गरिन्।
‘नेपाल सरकार समक्ष निष्पक्ष अनुसन्धान, न्याय र हामी आमाछोरीको भौतिक सुरक्षाको गुहार माग्न बाध्य भएकी छु,’ गुइदेलले भनिन्। विवाहपूर्व आर्जन गरेको सम्पत्ति रोक्का हुँदा दैनिक जीवनयापन र छोरीको पालनपोषण कठिन बनेको बताउँदै उनले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न राज्यसँग आग्रह गरिन्।
पत्रकार सम्मेलनमा अभियन्ता शोभा पाठकले पनि सुकुमायाको पक्षमा बोलिन्। पाठकका अनुसार सुकुमाया धेरै महिनादेखि न्यायको लागि आफूकहाँ आउँदै थिइन् र उनकै सुझावमा मिडिया समक्ष आउने निर्णय भयो। ‘उहाँका कागजपत्र र न्यायालयले समेत केही हदसम्म उहाँ पीडित भएको पुष्टि गरेको छ। पीडकहरूसँग कुरा गर्दा उनीहरूले गल्ती पनि स्वीकारे तर न्याय दिएनन्, त्यसैले प्रेस मिट गर्न बाध्य भइयो,’ पाठकले भनिन्।
