काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनले आफ्नो आगमनको जानकारी सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरे।
नेपाल पुगेपछि कान्डाले एडीबीले नेपालको विकास, आर्थिक रूपान्तरण र दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । उनका अनुसार रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि पूर्वाधार विकासमा एडीबीको सहयोग यसैगरी जारी रहनेछ।
नेपालका प्रमुख विकास साझेदारमध्ये एक रहेको एडीबीले हाल नेपालमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजना सञ्चालन गरिरहेको छ।
यस भ्रमणका क्रममा कान्डाले नेपालको नयाँ सरकारले तय गर्ने विकास प्राथमिकताबारे उच्चस्तरीय वार्तामा सहभागी हुने बताएका छन् र यसका लागि आफू उत्सुक रहेको पनि उनले जनाएका छन्।
नेपाल र एडीबीबीच विगत ६ दशकदेखि कायम रहेको सहकार्य र साझेदारी आगामी दिनमा अझ मजबुत बन्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।
