काठमाडौं। जर्मनीको म्युनिखमा दोस्रो ‘नेपाली रूट्स समिट–२०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र समुदायका अगुवाहरूबीच सञ्जाल विस्तार गर्दै नेपाली डायस्पोराको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले यो समिट आयोजना गरिएको थियो।
नेपाली रूट्सले आयोजना गरेको यस समिटमा जर्मनीका विभिन्न सहरबाट ९६ जना नेपाली सहभागी भएका थिए। जर्मनी तथा युरोपमा रहेका नेपाली मूलका विज्ञ, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका पेशाकर्मीलाई एउटै सञ्जालमा आबद्ध गर्ने उद्देश्यले स्थापित नेपाली रूट्सले ज्ञान आदानप्रदान, व्यावसायिक सहकार्य र नेपालसँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउन नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ।
समिटको अध्यक्षता नेपाली रूट्सका अध्यक्ष डा. कृतन गौतमले गरे। कार्यक्रममा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली रूट्स नेपाली डायस्पोराको साझा मञ्चका रूपमा महत्त्वपूर्ण संस्था बनेको बताए। उनले सरकारले परम्परागत कूटनीतिभन्दा आर्थिक कूटनीतिलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै पर्यटन, व्यापार, उद्योग, ऊर्जा, सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रमा डायस्पोराको ज्ञान, सीप र सञ्जालको उपयोग गर्नुपर्नेमा जोड दिए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका अध्यक्ष लोकमणि ढकालले नेपाली रूट्स र एनआरएनएबीच नजिकको सहकार्य आवश्यक रहेको बताउँदै नयाँ पुस्ताको आवश्यकता बुझ्न नेपाली रूट्सजस्ता संस्थाबाट सिक्न चाहेको धारणा राखे।
नेपाली रूट्सका सचिव जितेन्द्र कसौधनले सहभागीलाई स्वागत गर्दै ‘नेपाली रूट्स जर्नल’को विमोचन समेत गरे। उनले विश्वभर फैलिएको नेपाली डायस्पोरा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगिसकेको उल्लेख गर्दै उनीहरूबीच बलियो सञ्जाल निर्माण गर्नु समयको आवश्यकता भएको बताए। विदेशमा रहेका नेपालीबीच सहकार्य बढाउनुका साथै नेपालसँग ज्ञान, प्रविधि, अनुसन्धान, उद्यमशीलता र लगानीका क्षेत्रमा दीर्घकालीन सहकार्य विस्तार गर्ने अपेक्षाका साथ संस्थाले काम गरिरहेको पनि उनले जानकारी दिए।
समिटमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता, स्वच्छ ऊर्जा र डायस्पोरा नेतृत्वलगायत समसामयिक विषयमा गहन छलफल गरिएको थियो। विभिन्न क्षेत्रका विज्ञहरूले व्यक्तिगत सफलतालाई सामूहिक प्रभावमा रूपान्तरण गर्न बलियो व्यावसायिक सञ्जाल, मेन्टरशिप र सहकार्य आवश्यक रहेको बताए।
छलफलमा नेपाली डायस्पोराको भूमिका रेमिट्यान्समा मात्र सीमित नरही ज्ञान, अनुसन्धान, प्रविधि, नवप्रवर्तन र विश्वव्यापी सञ्जालमार्फत नेपाल र विश्व समुदायमा अझ प्रभावकारी योगदान दिन सकिने निष्कर्ष निकालियो। साथै नेपाल सरकारका तर्फबाट रिमोट भोटिङ, प्रवासी नेपाली नागरिकता र डायस्पोरा फन्डको प्रभावकारी परिचालनजस्ता नीतिगत विषयमा पहल गर्नुपर्नेमा पनि जोड दिइयो।
नेपालमा उद्यमशीलताको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यसको विकासका लागि डायस्पोरा र सरकारबीच सहकार्य जरुरी रहेको तथा नेपालको आर्थिक विकासमा योगदान गर्न डायस्पोरा तयार रहेको धारणा पनि व्यक्त गरियो। आयोजकले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विश्वभर रहेका नेपालीलाई जोड्ने र नेपालसँग अर्थपूर्ण सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
