काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। यी दुर्घटनामध्ये दैलेखको कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटना सबैभन्दा चिन्ताजनक बनेको छ, जहाँ बेपत्ता यात्रुहरूको खोजी पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन।
**दैलेखमा फोर्स गाडी नदीमा डुब्यो, खोजी जारी**
असार १८ गते बिहान करिब ११:३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेताडा क्षेत्रमा सडकबाट करिब चारसय मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो। दुर्घटनामा एक जनाको मृत्यु पुष्टि भइसकेको छ भने पारिवारिक स्रोतका अनुसार अझै पाँच जना बेपत्ता छन्।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै भने, ‘नदीको बहाव निकै तीव्र छ। गाडी वा यात्रु अड्किन सक्ने कुनै निश्चित स्थान फेला नपरेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ।’ बेपत्ताहरूको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको संयुक्त टोली खटिएको छ। सशस्त्र प्रहरी बलका ६ जना तालिमप्राप्त गोताखोर पनि नदीमा खोजी कार्यमा संलग्न छन्।
**डोल्पामा बोलेरो दुर्घटना, एकको मृत्यु**
असार २१ गते आइतबार डोल्पा जिल्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेहरूलाई उपचारका लागि जुम्ला अस्पतालमा पठाइएको छ।
**बैतडीमा बस दुर्घटना, १७ घाइते**
कर्णाली दुर्घटनापछि बैतडीमा पनि यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। लगातार भइरहेका यी दुर्घटनाले वर्षायाममा यात्रा सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकतातर्फ ध्यान दिलाएको प्रहरीले बताएको छ।
**वर्षायाममा जोखिम बढी, सावधानी अपनाउन आग्रह**
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी नरेशराज सुवेदीले वर्षायाममा सडक चिप्लिने, पहिरो जाने, सडक भासिने तथा दृश्यता कम हुनेजस्ता कारणले दुर्घटनाको जोखिम उल्लेख्य रूपमा बढ्ने बताए। उनले भने, ‘मौसमको अवस्था बुझेर मात्र यात्रा गर्नुपर्छ। सवारी साधनको प्राविधिक अवस्था राम्रो छ भन्ने सुनिश्चित गरेर मात्र गाडी चलाउनुपर्छ।’
सुवेदीले सवारी चालकलाई यात्रा सुरु गर्नुअघि गाडीको ब्रेक, टायर, स्टेयरिङ र लाइटलगायत सम्पूर्ण यान्त्रिक अवस्थाको अनिवार्य परीक्षण गर्न आग्रह गर्दै भने, आवश्यक सावधानी अपनाएमा वर्षायाममा हुने अधिकांश सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।
