विराटनगर। दुग्ध उत्पादन बढाउने, किसानको उत्पादन लागत घटाउने र बजार विस्तार गर्ने लक्ष्यसहित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/०८४ का लागि किसान केन्द्रित महत्त्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आगामी वर्ष नयाँ सदस्य विस्तार, सहुलियत कर्जा, उत्पादनमा बोनस, पशु स्वास्थ्य सेवा, उद्योग विस्तार र डिजिटल बजार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
संस्थाका अध्यक्ष यादव ढकालले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा र तेह्रथुमका ८८२ दुग्ध उत्पादक किसानलाई नयाँ सदस्य बनाइनेछ। कर्मचारी, विज्ञ र संस्था आसपासका स्थानीयलाई समेत सदस्यता विस्तार गर्दै प्रारम्भिक सहकारी संस्थासँग एकीकरणको प्रक्रिया अघि बढाइनेछ।
संस्थाले शतप्रतिशत ‘माइ’ प्रणालीलाई निरन्तरता दिँदै ३५० किसानलाई संस्थाको सिफारिस तथा जमानीमा सहुलियत कर्जा उपलब्ध गराउने जनाएको छ। चिलिङ भ्याट, दूध विश्लेषक, दूध दहने मेसिन, ढुवानीका साधन र गोठ निर्माणका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा दिइनेछ भने शैक्षिक तथा कृषि कर्जाअन्तर्गत १५ लाख रुपैयाँसम्म ११ प्रतिशत ब्याजदरमा लगानी गरिनेछ।
खराब कर्जा असुलीलाई प्रभावकारी बनाउन कानुनी परामर्शदाता नियुक्त गरिनेछ। आवश्यक परे विशेष असुली योजना लागू गरिनेछ र परियोजनाबिना ऋण प्रवाह गर्ने कर्मचारी तथा पदाधिकारीलाई समेत कानुनी दायरामा ल्याइने नीति लिइएको छ।
किसानलाई प्रोत्साहन स्वरूप उत्पादनका आधारमा प्रति लिटर एक रुपैयाँ प्रोत्साहन रकम निरन्तर दिइनेछ। दैनिक ५० देखि १०० लिटर दूध उत्पादन गर्ने व्यावसायिक फार्मलाई प्रति लिटर दुई रुपैयाँ, १०१ देखि १५० लिटरसम्म उत्पादन गर्नेलाई दुई रुपैयाँ ५० पैसा र १५१ लिटरभन्दा बढी उत्पादन गर्नेलाई तीन रुपैयाँ बोनस दिइनेछ। पराल खरिदमा प्रति केजी एक रुपैयाँ प्रोत्साहन रकम पनि कायमै रहनेछ।
पशु कार्ड र पशु बिमा कार्यक्रम जारी राख्दै किसानको उत्पादन लागत घटाउन साइलेज उत्पादनमा लगानी गरिनेछ। बिमित गाईभैँसी मरेमा बिमा दाबी रकम नआउँदासम्म ४५ दिनका लागि सापटी रकम उपलब्ध गराइनेछ। घातक रोग लागेका शेयर सदस्यलाई १५ हजार रुपैयाँसम्म राहत दिने नीति पनि लिइएको छ।
उद्योग विस्तारअन्तर्गत तरहरास्थित पुरानो कारखानालाई पिज्जा तथा स्वीट हाउसका रूपमा विकास गरिनेछ र साइलेज उद्योग सञ्चालनका लागि नयाँ जग्गा खरिद गरिनेछ। जोरपाटीस्थित चिज तथा छुर्पी उद्योगको प्रशोधन क्षमता दैनिक आठ हजार लिटर पुर्याउने, सात वर्षअघि खरिद गरिएको आइसक्रिम प्लान्ट थप प्रभावकारी रूपमा सञ्चालन गर्ने र पानी उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम पनि समेटिएको छ।
संस्थाले धनकुटा र मोरङमा नयाँ सेवा केन्द्र स्थापना गर्ने र ६ जिल्लाका १९ पालिकामा आगामी साउन १ गतेदेखि ‘एक पालिका, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम लागू गर्ने जनाएको छ।
बजार व्यवस्थापनका लागि डिजिटल प्रविधि प्रयोग गर्ने, काठमाडौं बजारमा बिक्री विस्तार गर्न थप कर्मचारी परिचालन गर्ने, दाना उद्योगसँग सम्झौता गरी सुलभ दरमा पशु आहार उपलब्ध गराउने र पशुपालन सामग्री बिक्रीको व्यवस्था मिलाइने नीति कार्यक्रममा उल्लेख छ।
यसका अतिरिक्त १०० किसानलाई अन्तर सहकारी तथा व्यावसायिक फार्मको अध्ययन भ्रमण गराइने, उत्कृष्ट कारोबार गर्ने किसानलाई पर्यटकीय भ्रमणमा पठाइने र संस्थाको कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरिने भएको छ।
उल्लेखनीय छ कि कामधेनु सहकारी कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा र तेह्रथुमका किसानले उत्पादन गरेको दूध संकलन गरी बजारीकरण गर्ने प्रमुख संस्था हो।
