काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश, कोशी प्रदेशको पहाडी र तराई भूभाग, तथा बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी प्रदेशको हिमाली भूभाग, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा भने आंशिक बादल छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मध्यमस्तरसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि बादल छाउने अनुमान छ । कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा आंशिक बादल रहनेछ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा र कोशी तथा मधेश प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्छ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
आज राति भने देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरसम्मको वर्षा र हिमपात हुन सक्छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेश, कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम विज्ञानले जनाएको छ ।
