मनोरंजन

पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालका सिनेमाघरमा प्रदर्शनमा

By अर्जुन भट्टराई •

पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालका सिनेमाघरमा प्रदर्शनमा

काठमाडौं । ठूलो बजेटमा बनेको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको छ । क्यापिटल वल्र्डमार्फत नेपाल भित्रिएको यो फिल्म शनिबार साँझको शोदेखि देशभरका सिनेमाघरमा चलिरहेको छ । ‘लार्जर–द्यान–लाइफ’ अनुभव दिने यस फिल्मले दर्शकलाई एक भव्य पौराणिक संसारमा लैजाने अपेक्षा गरिएको छ ।

फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ अर्थात् सुनौलो फूलको रहस्यमय दुनियाँलाई भव्य तरिकाले प्रस्तुत गरिएको छ ।

अभिषेक नामाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा मुख्य पात्र रुद्रको भूमिकामा विराट कर्ण छन् । रुद्रलाई भगवान् महादेवको शक्तिशाली र उग्र स्वरूपका रूपमा देखाइएको छ, जो आफ्नो समुदाय र धार्मिक सम्पदाको रक्षाका लागि जीवन दाउमा लगाएर लड्छन् ।

विराट कर्णसँगै मुख्य अभिनेत्रीका रूपमा नभा नतेश र ऐश्वर्या मेननले अभिनय गरेकी छन् । महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीले पनि महत्त्वपूर्ण भूमिकामा छन् । ‘केजीएफ’ फिल्ममा ‘गरुडा’ पात्रबाट चर्चा कमाएका रामचन्द्र राजुले यस फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् ।

एनआईके स्टुडियो र अभिषेक पिक्चर्सको ब्यानरमा किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डीले निर्माण गरेको यस फिल्मले पौराणिक कथालाई सामाजिक, राजनीतिक र साम्प्रदायिक विषयसँग जोडेर प्रस्तुत गरेको छ । निर्माण पक्षका अनुसार हिन्दु धर्मप्रति आस्था राख्ने दर्शकका लागि यो फिल्म विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

फिल्मको कथा धर्म, आस्था र शक्तिको द्वन्द्वमा केन्द्रित छ । कथाको सुरुवात मानिसको अमर बन्ने चाहना र सत्ताप्रतिको लोभबाट हुन्छ । खलपात्र अब्दाली र बैरागी ‘ब्रह्म कमल’ प्राप्त गरेर परम शक्ति हासिल गर्न खोजिरहेका हुन्छन्, र तिनीहरूका विरुद्ध रुद्र आफ्नो ज्यान लगाएर ती पवित्र सम्पदाको रक्षामा जुट्छन् । सन् १७५६ को फ्ल्यासब्याकमार्फत धार्मिक समुदायमाथि भएको हिंसाको चित्रण रुद्रको संघर्षलाई थप गहन र अर्थपूर्ण बनाउँछ ।

फिल्मले सुरुआतमै पौराणिक र धार्मिक पृष्ठभूमि प्रभावकारी रूपमा स्थापित गर्छ । कथा श्रीरङ्गापुरम् मन्दिर र त्यससँग जोडिएका रहस्यतर्फ बढेपछि एक्सन–एड्भेन्चरमा रूपान्तरित हुन्छ, जहाँ रुद्रले सर्प, चील र गोहीसँग जोखिमपूर्ण लडाइँ लड्दै लक्ष्यतर्फ अघि बढ्छन् । पार्वतीको परिवारसँग सम्बन्धित कथा र १८औँ शताब्दीको नरसंहारको भावनात्मक प्रस्तुतिले फिल्मलाई मार्मिक बनाएको छ । भिजुअल प्रस्तुति, भव्य सेट, एक्सन दृश्य र पौराणिक वातावरणको सिर्जनामा निर्माण टिमले गरेको मेहनत पर्दामा स्पष्ट देखिन्छ, जुन ‘नागबन्धम’को सबैभन्दा बलियो पक्ष मानिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.