समाचार

देशभर २४.९ प्रतिशत धान रोपाइँ सम्पन्न, मनसुन ढिलो हुँदा गति सुस्त

By अर्जुन भट्टराई

देशभर २४.९ प्रतिशत धान रोपाइँ सम्पन्न, मनसुन ढिलो हुँदा गति सुस्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ मा असार १९ गतेसम्म देशभर २४.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशभर कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ भइसकेको छ।

प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा राम्रो प्रगति देखिएको छ। त्यहाँ १ लाख ५४ हजार ९५० हेक्टरमध्ये ८९ हजार ७४२ हेक्टर अर्थात ५७.९२ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ। त्यसपछि गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१.४ हेक्टर (३८.३३ प्रतिशत) र बागमती प्रदेशमा १ लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार २६.१७ हेक्टर (३३.२१ प्रतिशत) मा रोपाइँ भएको छ।

कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर (२८.१५ प्रतिशत), लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७०.८७ हेक्टर (२०.८० प्रतिशत), मधेश प्रदेशमा ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर (१५.६४ प्रतिशत) र कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ४२ हजार ३५७.९६ हेक्टर (१५.३३ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको छ।

मन्त्रालयका अनुसार यस वर्ष मनसुन ढिलो सक्रिय भएकाले र पर्याप्त वर्षा हुन नसकेकाले गत वर्षको तुलनामा धान रोपाइँको गति सुस्त रहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.