समाचार

सिक्टा सिँचाइ आयोजना समयमै सक्नुपर्छ : मन्त्री श्रेष्ठ

By अर्जुन भट्टराई

सिक्टा सिँचाइ आयोजना समयमै सक्नुपर्छ : मन्त्री श्रेष्ठ

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन्।

आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी र लाभान्वित किसानसँगको अन्तरक्रियामा मन्त्री श्रेष्ठले निर्माण कार्यलाई थप तीव्रता दिन आग्रह गरे। उनले सरकार आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै ऐन–कानुन र प्रशासनिक प्रक्रियामा देखिएका जटिलता हटाउन आफूले आवश्यक पहल गर्ने बताए। बहुवर्षीय ठेक्का र सहमतिसम्बन्धी प्रक्रियालाई थप सरल र प्रभावकारी बनाइने पनि उनले जानकारी दिए।

मन्त्री श्रेष्ठले नहर क्षेत्रमा बढ्दो अतिक्रमण, प्रदूषण र अनियन्त्रित सहरीकरणका कारण सिँचित क्षेत्र घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै नहर संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने जोड दिए। साथै, किसानका खेतसम्म पानी पुर्‍याउनुका साथै कृषि उपजको बजारीकरण, गुणस्तरीय बीउ तथा मलको सहज उपलब्धता र मूल्य शृङ्खला विकासमा पनि सरकारले समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

उनले यो आयोजना केवल पूर्वाधार निर्माणमा मात्र सीमित नरही बाँकेको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण र किसानको आय बढाउने दीर्घकालीन आधार बन्ने विश्वास व्यक्त गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.