अर्थ

सरकारका १०० दिन: ६८ हजार उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत भुक्तानी

By अर्जुन भट्टराई

सरकारका १०० दिन: ६८ हजार उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत भुक्तानी

काठमाडौं। चालु आर्थिक वर्षमा देशका १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम भुक्तानी भइसकेको सरकारले जनाएको छ।

वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आज सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन आयोजना गरे। उनले जानकारी दिए कि विगतमा उखु किसानले आफ्नो भुक्तानीका लागि ६ देखि ८ महिनासम्म कुर्नुपर्ने बाध्यता थियो, तर यस वर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने प्रभावकारी व्यवस्था मिलाइएको छ।

सरकारको तर्फबाट प्रतिक्वीन्टल ७० रुपैयाँका दरले दिइने करिब एक अर्ब ५२ करोड रुपैयाँको अनुदान रकम सम्बन्धित निकायमा निकासा भइसकेको छ र असार २५ भित्र किसानको खातामा जम्मा हुने क्रममा रहेको मन्त्री पोखरेलले बताए। बैंक खाता र प्यानजस्ता प्राविधिक विवरण नमिलेका कारण रोकिएका केही किसानको बाँकी भुक्तानी पनि तत्काल हुने व्यवस्था मिलाइएको सरकारले जारी गरेको १०० दिनको उपलब्धि विवरणमा उल्लेख छ।

कृषि क्षेत्रमा थप सुधारका लागि कृषि बजार सूचना प्रणाली सञ्चालन र चिस्यान केन्द्रका लागि बजेट व्यवस्था गरिएको छ। कृषकलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण र माटो परीक्षणको काम पनि अघि बढाइएको छ। कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले तीन करोड रुपैयाँसम्मको कृषि कर्जामा रहेको जोखिम भार ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको छ।

मुलुकभरका किसानको विवरण सङ्कलन गरी विद्युतीय प्रणालीमा आबद्ध गर्ने अभियान अन्तर्गत कुल २५ लाख ५८ हजार १९८ किसानमध्ये हालसम्म सात लाख ५० हजारको प्रमाणीकरण सम्पन्न भइसकेको छ। यसका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावित परिवारलाई राहत वितरण र यस विषयको अध्ययन कार्य पनि समितिले सक्रिय रूपमा जारी राखेको जनाइएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.