अर्थ

न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना — तेलमा मरेको साङ्लो, म्याद नाघेको सामग्री भेटियो

By अर्जुन भट्टराई

न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना — तेलमा मरेको साङ्लो, म्याद नाघेको सामग्री भेटियो

काठमाडौं । काठमाडौंको न्युरोडस्थित कर्नर प्वाइन्ट रेष्टुरेण्ट एण्ड बार प्रालीलाई खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर लापर्बाही गरेको आरोपमा २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले असार १९ गते गरेको निरीक्षणमा रेस्टुरेन्टभित्र गम्भीर खाद्य सुरक्षा समस्याहरू फेला पारेपछि यो कारबाही भएको हो।

निरीक्षणका क्रममा पिज्जा बेस बनाउन प्रयोग हुने तेलमा मरेको साङ्लो भेटिएको थियो। साथै, उपभोक्ताहरूलाई परिवेशन गरिने फ्रुट सिरप (स्क्वास) म्याद गुज्रिसकेको अवस्थामा पाइएको छ, जसले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोखिम निम्त्याउन सक्ने विभागको भनाइ छ।

प्रयोगमा रहेको तेलको परीक्षणमा टीपीएम मान २२.० पुगेको पाइएको छ, जुन तेल पटक-पटक पुनः प्रयोग गरिएको र गुणस्तर ह्रास भएको संकेत मानिन्छ। यसका अतिरिक्त भण्डारण व्यवस्था अत्यन्त अव्यवस्थित रहेको, फ्रिजमा राखिएका खाद्य सामग्री सही ढंगले वर्गीकरण नगरिएको र समग्र सरसफाइको अवस्था कमजोर रहेको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २ लाख १ हजार रुपैयाँ जरिवाना तोक्यो। म्याद नाघेका र लेबल नभएका दुई बोतल स्क्वास तत्काल नष्ट गरियो।

रेस्टुरेन्ट प्रशासनलाई फेला परेका कमजोरी सुधार गरी तीन दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिएको जानकारी दिँदै उपभोक्ता स्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि व्यवसायलाई छुट नदिइने स्पष्ट पारेकी छन्।

अनुगमन टोलीले रेस्टुरेन्टको सञ्चालनमा प्रणालीगत कमजोरी रहेको निष्कर्ष निकाल्दै खाद्य सामग्रीको भण्डारण, सरसफाइ व्यवस्थापन र म्याद निगरानीमा दीर्घकालीन सुधार आवश्यक रहेको सुझाव दिएको छ। यस घटनापछि सम्बन्धित निकायले काठमाडौं उपत्यकामा सञ्चालित सबै रेस्टुरेन्ट तथा होटलहरूलाई स्वच्छता मापदण्ड कडाइका साथ पालना गर्न पुनः चेतावनी दिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.