समाचार

सरकारको १०० दिन विवादास्पद र निराशाजनक : प्रमुख सचेतक ऐन बहादुर महर

By अर्जुन भट्टराई

सरकारको १०० दिन विवादास्पद र निराशाजनक : प्रमुख सचेतक ऐन बहादुर महर

काठमाडौँ । चैत १३ गते गठित सरकार १०० दिन पूरा गर्ने संघारमा पुग्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन बहादुर महरले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा महरले वर्तमान सरकारको १०० दिन अत्यन्तै विवादास्पद र निराशाजनक रहेको टिप्पणी गरे।

महरका अनुसार सरकार संविधान र कानुनको कार्यान्वयन गर्नुको साटो सर्वसत्तावाद, स्वेच्छाचारिता र तानाशाहीतर्फ उन्मुख भएको छ। आफूलाई ठूलो जनमत प्राप्त भएको दम्भमा सरकारले लोकतान्त्रिक मूल्य–मान्यतालाई नै कमजोर बनाउने काम गरिरहेको उनको आरोप छ। उनले भने, “सरकार जनअपेक्षा पूरा गर्न पूर्णतः असफल भएको छ।”

महरले सरकारले सपना मात्र बाँड्ने, तर कार्यान्वयन पक्ष भने फितलो र कमजोर रहेको दाबी गरे। हिजो अभियन्ताको भूमिकामा रहेकाहरू अहिले सत्तामा पुगेपछि परिपक्वता र जवाफदेहिता देखाउनुको साटो जनतामा डर र त्रासको वातावरण सिर्जना गर्न उद्दत रहेको उनको भनाइ छ।

सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना जस्ता जनचासोका विषयमा सरकारको ध्यान पुग्न नसकेको बताउँदै महरले सरकार प्रतिशोध साध्ने र आफूलाई मन नपर्नेलाई ‘ठिक पार्ने’ काममा केन्द्रित भएको आरोप लगाए। मन्त्रालयहरूको सङ्ख्या घटाउने भनेर भ्रम सिर्जना गर्दागर्दै मन्त्रीहरूको स्वकीय सचिवालयमा भारी सङ्ख्यामा सल्लाहकार थपिएकाले राज्यको व्ययभार बढेको उनले बताए। यसले सुशासनको साटो कुशासन निम्त्याउने र कर्मचारीतन्त्रलाई निष्क्रिय बनाउने उनको जिकिर छ।

सरकारले ल्याएको १०० बुँदे कार्ययोजनाको कार्यान्वयन १० प्रतिशत पनि हुन नसकेको बताउँदै महरले सरकारको व्यवहार उरन्ठेउलो र बालसुलभ रहेको आरोप लगाए। उनले यो कार्यशैली देश र लोकतन्त्रका लागि अत्यन्तै चिन्ताजनक र खतरनाक भएको चेतावनी दिए।

एमाले परम्परागत रूपमा विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै महरले आफूहरू रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको बताए। सरकारले जनताको पक्षमा र विधिको शासनअनुसार काम गर्दा पूर्ण समर्थन रहने, तर गलत काम गरेमा कडा प्रश्न गरिने उनले स्पष्ट पारे।

प्रधानमन्त्रीको संसदीय उपस्थितिप्रति कटाक्ष गर्दै महरले संविधानको धारा ७६ (१०) अनुसार सरकार सदनप्रति उत्तरदायी हुनुपर्नेमा प्रधानमन्त्रीले संसदलाई नै उपेक्षा र अपमान गरेको आरोप लगाए। उनका अनुसार संसदमा आउने शैली र उपस्थितिबाटै प्रधानमन्त्रीले लोकतन्त्र र सार्वभौमसत्ताको अवहेलना गरिरहेका छन्।

अन्तमा महरले अपार जनमत पाएको सरकारले युवा पुस्तामा जगाएको आशामा सुरुमै तुषारापात भएको बताए। एक महिना नबित्दै नागरिकहरू सडकमा उत्रिनुपर्ने अवस्था आउनु सरकारको ठूलो असफलता भएको उल्लेख गर्दै उनले सरकार यही प्रवृत्तिमा चले ६ महिना टिक्न पनि मुस्किल पर्ने दाबी गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.