समाचार

विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन सघाउने

By अर्जुन भट्टराई

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

आइतबार काठमाडौंमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पत्रकार सम्मेलन गर्दै डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससको नेपाल भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए । त्यस्तै भ्रमणका क्रममा नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्युएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्धता पनि प्राप्त भएको उनले बताए । मन्त्री खतिवडाले अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका साथै नेपाली विज्ञहरूलाई अवसर एवं क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता महानिर्देशकले व्यक्त गर्नुभएको बताए ।

डब्ल्युएचओका प्रतिनिधिमण्डलसमक्ष नेपालले प्रस्तुत गरेका विषयलाई डब्ल्युएचओले सकारात्मक रुपमा लिएको मन्त्री खतिवडाले जानकारी दिएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.