काठमाडौँ । संघीय सरकार गठन भएको एकसय दिन पुग्दा स्वास्थ्य क्षेत्रमा आमूल सुधार भएको दाबी भइरहेको छ, तर वास्तविकता भने फरक देखिन्छ । भुक्तभोगी बिरामी र उनीहरूका कुरुवाहरूले अझै पनि सरकारी अस्पतालमा उस्तै सास्ती खेप्नुपरेको बताएका छन् ।
सरकारले गत चैत १३ गते जारी गरेको एकसय बुँदे शासकीय सुधारको कार्यसूचीको बुँदा नम्बर ८५ मा स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भएको उल्लेख छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डिजिटल अभिलेख प्रणाली, निःशुल्क उपचार र सुशासनमा महत्त्वपूर्ण कदम चालेको दाबी गरेको छ । तर देशकै सबैभन्दा पुरानो र ठूलो सरकारी अस्पताल वीर अस्पतालमा पुग्दा भने यो दाबीसँग मेल खाने दृश्य देखिँदैन ।
लाइन उस्तै, व्यवहार रुखो
सुदूरपश्चिमबाट बुबाको उपचारका लागि वीर अस्पताल आएकी कन्चन बमले टिकट काट्ने प्रक्रियामा केही सुधार भएको स्वीकार गर्छिन् । पहिले बिहान ७ बजैदेखि लाइनमा बस्दा दिनभर खेर जाने अवस्था थियो, अहिले त्यसमा केही सहजता आएको उनी बताउँछिन् । तर कर्मचारी र डाक्टरहरूको व्यवहारप्रति उनको ठूलो गुनासो छ ।
‘टिकटमा केही सहजता छ, तर कर्मचारीको व्यवहार ठाडो र रुखो छ,’ उनले भनिन् ।
टिकट काउन्टर र सोधपुछमा बस्ने तल्लो तहका कर्मचारीहरू मात्र होइन, डाक्टरहरूले समेत रिपोर्ट देखाउन गँदा ‘बिरामीलाई नै बोलाउनुस्, हेलचेक्र्याइँ गर्दैनौँ’ भन्दै असहयोगी व्यवहार गरेको उनले सुनाइन् । टाढाबाट आएर थाकेका बिरामी र कुरुवासँग धैर्यका साथ नम्र व्यवहार गरियोस् भन्ने उनको माग छ ।
वार्डमा दुर्व्यवहार र फोहोर गाउन
करेन्ट लागेर वीर अस्पतालको इमर्जेन्सी हुँदै वार्डमा भर्ना भएकी अनुस्का तामाङले अस्पतालको सरसफाइको दयनीय अवस्थाबारे आक्रोश पोखिन् । बिरामीले लगाउने पेशेन्ट गाउन र कुरुवाले लगाउने भिजिटर गाउन जताततै फोहोर अवस्थामा फालिएका हुन्छन् र तिनै मैला गाउनहरू पुनः प्रयोग गर्न बाध्य पारिने गरेको उनले बताइन् ।
‘एक जनाले लगाएर फुकालेको गाउन अर्को कुरुवालाई दिने गरिन्छ । यसबारे बोल्दा उल्टै कर्मचारीले संक्रमण हुन्छ भन्दै थर्काउँछन्,’ उनले भनिन् । नयाँ सरकार आए पनि सरकारी अस्पतालमा सेवा लिन आउँदा दुःख पाइने परिपाटी अन्त्य नभएको उनको भनाइ छ ।
बीमाको औषधि पाइँदैन, रिफरल झन्झटिलो
ट्रमा सेन्टरबाट वीर अस्पताल रिफर भएका कमल भुसालले पुरानो टिकटले काम नगरेपछि फेरि नयाँ टिकटका लागि लामो लाइनमा बस्नुपरेको सुनाए । टोकन प्रणालीले भीड व्यवस्थापनमा केही मद्दत गरे पनि अस्पतालभित्रको अवस्था जस्ताको तस्तै रहेको उनी बताउँछन् ।
स्वास्थ्य बीमा अन्तर्गत कुन औषधि निःशुल्क पाइन्छ भन्ने जानकारी सूचना पाटीमा नराख्दा बिरामीहरू बाहिर महँगोमा औषधि किन्न बाध्य भइरहेको उनको गुनासो छ । यसका साथै रिफरल प्रणाली पनि असाध्यै झन्झटिलो रहेको उनले बताए । जमल वा अन्य प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफरल लिन जाँदा कार्यालय समयमै डाक्टरहरू अनुपस्थित रहने गरेको उनले जानकारी दिए ।
सरकारले स्वास्थ्य क्षेत्रमा सुधारको दाबी गरिरहँदा वीर अस्पतालमा भेटिएका यी सेवाग्राहीहरूको अनुभवले भने जमिनी वास्तविकता फरक रहेको देखाउँछ ।
