समाचार

तीन महिनामै बालेनको सरकारलाई ‘काम गरेन’ भन्न मिल्दैन, तर सच्चिनु जरुरी छ : मिराज ढुंगाना

By अर्जुन भट्टराई

तीन महिनामै बालेनको सरकारलाई ‘काम गरेन’ भन्न मिल्दैन, तर सच्चिनु जरुरी छ : मिराज ढुंगाना

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले बालेन्द्र शाह नेतृत्वको सरकारलाई अहिले नै ‘देश बनाउन सकेन’ भनेर टिप्पणी गर्न नहुने बताएका छन् । नेपाल न्यूज बैंकसँगको संवादमा उनले भने, ‘सरकार कुन दिशातर्फ गइरहेको छ भन्न सकिएला, तर काम नै गर्न सकेन भन्नु अहिले सान्दर्भिक हुँदैन ।’

ढुंगानाका अनुसार सरकार अझै ‘हनिमुन पिरियड’बाट भर्खर बाहिरिएको सुरुवाती चरणमा छ, त्यसैले तत्काल मूल्यांकन उचित हुँदैन । उनले सरकारले तयार गरेको सय बुँदे वाचापत्रमध्ये अहिलेसम्म ३० देखि ४० प्रतिशत मात्र काम भएको आकलन गरे । ‘उहाँहरु पहिलो पटक सरकारमा जानुभएको छ, अनुभव पनि छैन, सिक्दै अगाडि बढ्ने अवस्थामा हुनुहुन्छ,’ उनले भने । तीन महिना भनेको दिशा तय गर्ने अवधि भएकाले पाँच वर्षको जनादेश पाएको सरकारलाई काम गर्ने समय दिनुपर्ने उनको भनाइ छ ।

बिना प्रमाण पक्राउ गर्नु गलत

पछिल्लो समय सरकारले प्रमाण नपुर्याई र प्रतिशोधपूर्ण ढंगले नेता तथा व्यवसायीहरूलाई पक्राउ गरेको देखिन्छ भन्दै ढुंगानाले आपत्ति जनाए । ‘थुन्ने अनि कुरा सुन्ने प्रक्रिया मान्दिनँ, यो ठिक होइन । राज्यले कसैको इज्जत र प्रतिष्ठामाथि खेल्न पाउँदैन,’ उनले भने । उनका अनुसार ठग वा बदमास भए प्रमाण पुर्याएर पक्राउ गर्नु स्वाभाविक हो, तर अनावश्यक धरपकड स्वीकार्य हुँदैन । ‘कसैलाई बिना सबुत हत्कडी लगाइयो, पछि निर्दोष साबित भयो भने राज्य चुक्छ । जोकोहीलाई, चाहे क्रिमिनल वा कैदी नै किन नहोस्, इज्जतका साथ बाँच्न पाउने अधिकार छ,’ उनले थपे ।

गृहमन्त्रीको कार्यशैली मनपर्छ, तर कानुन सिक्नुपर्छ

ढुंगानाले गृहमन्त्री सुधन गुरुङको काम गर्ने शैलीको खुलेर प्रशंसा गरे । ‘म गृहमन्त्रीप्रति सकारात्मक छु, उहाँको कार्यशैलीप्रति निराश हुनुपर्ने देख्दिनँ,’ उनले भने । तर गृहमन्त्री पदमा पुनर्बहालीको विषयमा भने उनले संशय व्यक्त गरे । उनले भने, ‘उहाँको विषयमा प्रश्न उठिसकेपछि विपक्षीसमेत राखेर संसदीय समिति बन्नुपर्ने थियो, तर आफ्नै सरकार, आफ्नै मन्त्री र आफ्नै छानबिन समिति — यो अलि ठिक भएन । यसले सरकारको पारदर्शितामाथि नै शंका उत्पन्न गर्यो ।’ उनले अझ भने, ‘सुधन गुरुङको नियत मलाई ठिक लाग्छ, तर कानुनमा उहाँ फितलो हुनुभयो, त्यो सच्याउनुपर्छ ।’

कर बढाउनु अहिले जायज छैन

प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताप्रति उत्तरदायी बन्न सुझाव दिँदै ढुंगानाले बजेटमार्फत कर बढाउने विषयमा पनि स्पष्ट धारणा राखे । ‘न्यूनतम तलब १९,५०० तोकिएको छ तर कति जनाले पाइरहनुभएको छ ? स्कूलको फि र अस्पतालको खर्च धान्न नसक्ने अवस्थामा कर थप्नु जायज होइन,’ उनले भने । सेवासुविधा पुरानै राखेर कर बढाउने प्रवृत्तिको आलोचना गर्दै उनले भने, ‘कर स्विट्जरल्याण्डको जस्तो अनि सुविधा सोमालिया जस्तो भयो भने मिलेन ।’ आयआर्जन बढेपछि मात्र कर बढाउनुपर्ने उनको तर्क छ । साथै, सरकारले २०४६ सालपछिका मात्र नभई २००७ सालपछिका फाइलहरू पनि खोल्ने साहस गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री संसदमा आफैं जवाफदेही हुनुपर्छ

ढुंगानाले संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र अभिव्यक्तिबारे प्रश्न उठाए । ‘प्रधानमन्त्री जाने, बुझेको र परिपक्व व्यक्ति भनेर निर्वाचित गरेर पठाएको हो, पार्टी सभापति वा परराष्ट्रमन्त्रीले बोलून् भनेर होइन । त्यसैले उहाँ आफैं संसदमा आएर जवाफदेही हुनुपर्छ,’ उनले भने । साथै कूटनीतिक मर्यादाबारे बोल्दै उनले थपे, ‘हामी दुई ढुंगाबीचको तरुल हौं । सिमाना मिचिएको कुरा हचुवामा होइन, तथ्य र दस्तावेजका आधारमा बोल्नुपर्छ ।’

नयाँ राजनीतिक शक्ति बनाउने तयारी

ढुंगानाले आगामी स्थानीय तह निर्वाचनअघि नै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने तयारीमा रहेको खुलासा गरे । ‘आन्दोलनको उपलब्धि भनेको जनताको मनमा पुस्तान्तरण हुनुपर्छ भन्ने चेत खुलेको छ । अब योङ भर्सेज योङ हुनुपर्छ, योङ भर्सेज ओल्ड होइन,’ उनले भने । पुराना दलहरूसँग जनताले सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगिसकेको बताउँदै उनले भने, ‘मिलापत्र गरेर काम छैन, पुरानासँग जनताले डिभोर्स गर्नुपर्ने अवस्था आइसकेको छ ।’

फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘ल्यान्डस्लाइड भिक्ट्री’ हासिल गरेको बताउँदै उनले भने, पुरानालाई जनताले नरुचाएका हुन्, तर रास्वपाप्रति पनि जनताको विश्वास सधैँ कायम रहन्छ भन्न सकिँदैन । ढुंगानाले नेपालको माटो सुहाउँदो विचार आवश्यक रहेको जोड दिँदै ‘एडभान्स डेमोक्रेसी’का पक्षमा बहस सुरु गरेको जानकारी दिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.