समाचार

वीरगञ्जको नारायणी अस्पतालमा सुलभ फार्मेसी सुरु, सस्तोमा पाइने गुणस्तरीय औषधि

By अर्जुन भट्टराई

वीरगञ्जको नारायणी अस्पतालमा सुलभ फार्मेसी सुरु, सस्तोमा पाइने गुणस्तरीय औषधि

वीरगञ्जस्थित नारायणी अस्पतालमा अब बिरामीहरूले बजार मूल्यभन्दा सस्तो दरमा गुणस्तरीय औषधि पाउन सक्नेछन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा ल्याइएको हो।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) मा सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने व्यवस्था छ। सोही कार्यक्रम कार्यान्वयन गर्दै नारायणी अस्पतालले यो सेवा शुरु गरेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत उपचारका लागि अस्पताल आउने बिरामीले आवश्यक औषधि अस्पतालबाटै सहजै किन्न पाउनेछन्। यसले उपचार खर्च घटाउनुका साथै सर्वसाधारणको गुणस्तरीय औषधिमा पहुँच बढाउने अपेक्षा गरिएको छ।

यसैबीच, नारायणी अस्पतालमा क्याथ ल्याब मेसिन जडान गर्ने कार्य पनि सुरु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शासकीय सुधार कार्यसूचीअनुसार देशभरिका सरकारी अस्पतालमा चरणबद्ध रूपमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने काम अगाडि बढाइरहेको बताएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.