हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ का २५ वर्षीय शिशिर परियार रहेका छन्।
प्रहरीका अनुसार परियारविरुद्ध मोटरसाइकल चोरी मुद्दामा सम्मानित मकवानपुर जिल्ला अदालतमा मुद्दा नं. ०८१–ऋ१–०३०६ दर्ता भएको थियो। शुरुमा रु. १ लाख धरौटी तोकिएकोमा रकम बुझाउन नसकेपछि उनलाई कारागार कार्यालय भीमफेदी चलान गरिएको थियो। त्यसपछि मिति २०८२ पुस १४ गते अदालतको अन्तिम फैसलाबाट उनलाई १ वर्ष ३ महिना कैद सजाय तोकियो।
उनी उक्त सजाय भुक्तान गरिरहेकै बेला जेन्जी आन्दोलनको मौका छोपी कारागारबाट भागेका थिए। प्रहरीले खोजतलास तीव्र पारेपछि विशेष सूचनाका आधारमा हेटौँडा बसपार्क क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि बाँकी कैद सजाय भुक्तानका लागि उनलाई पुनः कारागार पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले आन्दोलनका क्रममा फरार भएका व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको बताए। उनका अनुसार कानुनी कारबाहीबाट बच्न लुकेका फरार व्यक्तिहरूलाई एक–एक गरी नियन्त्रणमा लिने अभियान थप प्रभावकारी बनाइएको छ र अदालतबाट सजाय तोकिएका सबै फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको छ।
